वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीनजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं.१ बस्ने २४ वर्षीय समिप श्रेष्ठ, २८ वर्षीय सुवास पौडेल र हेटौडा १४ मयूरधाप बस्ने २८ वर्षीय साजन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
शुक्रबार साँझ वीरगञ्ज महानगरपालिका १६ रजतजयन्तीचोक स्थित लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ आउने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा ना.३० प ७७४६ नम्बरको स्कुटीलाई रोकी चेक गर्दा लागु औषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ०.६२० मि. ग्राम बरामद गरेको प्रहरीले बताएको छ ।
यस्तै, सोही दिन वीरगञ्ज १६ रजतजयन्ती चोकमा खटिएको चेकिङ टोलीले हेटौडा १४ मयूरधाप बस्ने २८ वर्षीय साजन पौडेललाई पक्राउ गरेको छ ।
पौडेलले बोकेको प्लाष्टिकको झोलाभित्र प्रतिबन्धित लागु औषध नाईट्राजेपाम नाइजा एक्यान प्रति पत्तामा १० ट्याब्लेटका दरले ७ पत्तामा ७० ट्याब्लेट फेला परेको थियो ।
बरामद भएको लागु औषध सहित पौडेललाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भैरहेको प्रहरीले जनाएको छ ।






