वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषध गाँजासहित वीरगञ्जबाट एक जना युवकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका – १६ नगवा फूलबारी टोल निवासी शेख सदामलाई उनको घरमा छपा मारी गरी लागूऔषध गाँजासहित नियन्त्रणमा लिएको हो ।
सदामले आफ्नै घरमा अवैध तरिकाले लागूऔषध लुकाएर राखेको र विक्री वितरणसमेत गर्ने गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त उनलाई मङ्गलवार दिउँसो नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।
प्रहरीले सदामको घरमा उनी सुत्ने कोठाको खाट मुनी कालो रङ्गको प्लास्टिकको डब्बाभित्र लुकाई छिपाइ राखिएको साढे ६ किलोग्राम गाँजा र त्यसलाई तौल गर्ने दुई थान डिजिटल तराजु समेत बरामद गरेको डिएसपी थापाले बताए ।
लागूऔषधसहित सदामलाई नियन्त्रणमा राखेर थप अनुसन्धानको कार्य अगाडि बढाइएको उनले बताए ।


