वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोकमा राखिएको साँढेको प्रतिमा तोडफोड गरेको घटनाको हिन्दु समाज वीरगञ्जले भत्र्सना गरेका छन् ।
वीरगञ्ज लाई धार्मीक एवं सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउने गरी महानगर प्रमुख राजेशमान सिंह योजनावद्ध कार्यमा लागिरहेको अवस्थामा भएको तोडफोड गलत भएको समाजले आइतबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष राधाकृष्ण रौनियार, हिन्दु स्वयम सेवक संघका रन्जित साह सर्राफ, हिन्दु स्वयम सेवक संघका उमेश यादव, बजरंग दलका रुपक यादव, वीरगञ्ज २१ का स्थानीय नागमणी उपाध्यायले सयुँक्त रुपमा जारी गरेको विज्ञप्तीमार्फत उक्त घटनाको भत्र्सना गरिएको हो ।
परवानीपुरका स्थानीयले प्रतिमा हटाउन आग्रह गरेको र महानगर प्रमुखले हटाउन तयार रहेको प्रतिबद्धता जाहेर गर्दा पनि तोडफोड गरेर घटनालाई राजनीतिकरण गर्न खोजिएको विज्ञप्तीमा उल्लेख छ । साथै यस घटनालाई राजनीतिक रोटी सेक्ने नाफा घाटाको रुपमा नलिई अनर्गल प्रचारबाजी नगर्न पनि विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।








