Categories समाज

भारतबाट मजदुरी गरेर घर फर्किने क्रममा नेपालीले नै नेपालीलाई बीच बाटोमा लुटे

वीरगन्ज । भारतबाट मजदुरी गरेर घर फर्किन लागेका एक नेपाली कामदार फेरि बाटोमै लुटिएका छन् । भारत उत्तराखण्डको हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनी मंगलबार गड्डाचौकी नाकामा पुगेका हुन् ।

भारतको कर्णप्रयागमा ज्याला मजदुरी गर्ने सुर्खेतको बराहताल गाउँपालिका–६ का ३७ वर्षीय विष्णु विक हरिद्वारमा लुटिएका हुन् ।

Advertisement

मंसिर ३० मा कर्णप्रयागबाट घर हिँडेका उनी सोही दिन पुस १ गते हरिद्वार पुगेका थिए । बसपार्कमा झर्ने बित्तिकै ३ जना सुर्खेत घर बताउने नेपालीले नै बेहोस बनाएर लुटेको विक बताउँछन् ।

Advertisement

‘बसर्पाकमा झर्ने बित्तिकै तीन जना नेपाली आए, हाम्रो घर पनि सुर्खेत नै हो, सँगै जाउला भने,’ मंगलबार बिहान गड्डाचौकी पुगेका विकले भने, ‘चिसो पिउँ भनेर ड्यु ल्याए, चारैले सँगै पियौं, म त एकै छिनमा बेहोस भएछु ।’ दोस्रो दिन होसमा आउँदा मोबाइल, झोला र पैसा केही नभेटिएको उनले बताए ।

कर्णप्रयागमा ज्याला मजदुरी गरेर कमाएका २५ हजार भारु लुटिएको उनले बताए । एक थान मोबाइल र लुगाकपडा सबै लुटेको उनले बताए । हरिद्वार बसपार्कमा प्रहरीसँग सहयोग मागेर बनबासासम्म आएको उनले बताए ।

मंगलबार बिहान गड्डाचौकी पुगेका विकलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने व्यवस्था गरेका छन् । उनलाई बाटो खर्च र टिकट दिएर घर पठाएको हो ।

दसैंयता भारतबाट घर फर्किने क्रममा लुटिएका ११ जना नागरिक सहायता कक्षको सम्पर्कमा आएका छन् । जसमध्ये १० जना हरिद्वारमै लुटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *