काठमाडाैं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले कुवेतबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।
कुवेतमा पक्राउ परेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामालाई उक्त मुद्दामा कारबाही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएकाे छ । नेशनल सेन्ट्रल व्यूरो (एनसीबी) कुवेतको समन्वयमा उनलाई कुवेतमा पक्राउ गरिएकाे थियाे ।
प्रहरीका अनुसार लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो ।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ०८० असोज ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।






