वीरगन्ज । धनुषाको इलाका प्रहरी कार्यालय सुगानिकासका ईन्चाज सई बालमुकुन्द ठाकुर जिल्ला तानिएका छन् । धनुषाको हंसपुर नगरपालिका– ५ का दीपनारायण मण्डलको मृत्यु प्रकरणमा उनलाई कारबाही स्वरुप जिल्ला तानिएको हो ।
उनलाई कारबाही स्वरुप जिल्ला तानिएको धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । छिमेकसंगको समान्य बिबादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयले शुक्रबार बिहान इलाका प्रहरी कार्यालयमा ढुंगमुढा र तोडफोड गरेका थिए । त्यस क्रममा झडप समेत भएर अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीले गरेको हवाई फायरको गोली दायाँ हातमा लागेर स्थानीय शिवशंकर मण्डल घाइते भएका छन् ।
गाउँलेले आक्रमण गरेपछि आत्मरक्षाको लागि हवाई फायर गर्दा राइफलको गोली लागेर स्थानीय घाइते भएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले बताए । ढुंगामुढाबाट कार्यालयमा पूर्णरुपमा क्षति पुगेको हो ।
बिहीबार राति पैसा चोरी भएको विषयमा स्थानीय शंकर ठाकुरसंग दीपनारायाण्को विवाद भएको थियो ।
स्थानीयका अनुसार त्यस क्रममा शंकरले दीपनारायणलाई कुटपिट गरेर सईलाई ठाकुरलाई बोलाएर पक्राउ गर्न लगाएका थिए । इलाकामा लगेर प्रहरीले कुटपिट गरेको र घर फर्केपछि अचानक बेहोस भई उपचारको लागि प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीयको दावी छ । तर, एसपी शर्माले भने प्रहरीले पक्राउ गरेर इलाकामा ल्याएर कुटपिट गरेको र त्यस कारणले मृत्यु भएको घटनामा कुनै सत्यता नरहेको दावी गरे ।
सई ठाकुर र आरोपी पनि ठाकुर भएकाले जातजात मिलेर पीडितलाई उल्टै कुटपिट गर्दा मृत्यु भएको स्थानीयको दावी छ । सई ठाकुरको कामप्रति स्थानीय पहिलादेखि पनि सन्तुष्ट नरहेको र छुद्र रहेको स्थानीयले गुनासो गरेपछि उनलाई जिल्ला तानिएको डिएसपी अवाले बताए ।






