Categories रासस

अस्पतालमै हराउँछ बिरामीको फाइल

Advertisement

चितवन । भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको नाम दर्ता गरेसँगै कर्मचारीको पहिलो काम हुन्छ, बिरामीको फाइल तयार गर्ने । नाम दर्ता गरेपछि फाइल खोजेर बिरामीलाई परिचयपत्र दिइन्छ ।

बिरामीका हरेक परीक्षणहरु त्यो फाइलमा थपिँदै जान्छन् । फाइलमा भएको इतिहास (हिस्ट्री) हेरेर चिकित्सकले पटकैपिच्छे थप उपचारका लागि प्रक्रिया अघि बढाउँछन् ।यो फाइल बिरामीले लैजान पाउँदैन अस्पतालमै रहन्छ । अर्को पटक आउँदा पहिला दर्ता गरेको परिचयपत्र हेरेर खोजिन्छ तर यही फाइल अस्पतालबाटै गायब हुन्छ भन्दा अचम्म लाग्छ ।

Advertisement

यहाँ आउने बिरामीका लागि सबैभन्दा ठूलो समस्या नै फाइल हराउने हो । क्यान्सरका बिरामीका लागि एक पटक आएर उपचार सम्भव छैन । पटकपटक अस्पताल आउने ती बिरामीको फाइल हराएपछि उपचारमै समस्या हुँदै आएको छ । आउने बिरामीलाई विभिन्न बहानामा दुःख दिएर निजी अस्पताल पठाउने खेल पनि योसँगै जोडिने गरेको पीडितको गुनासो थियो ।

Advertisement

उपचारका लागि सासू लिएर आएकी सर्लाहीकी मञ्जु पौडेल अघिल्लो पटक उपचारका पछि छोडिएको फाइल खोज्दै अस्पतालमा भौँतारिदै थिइन् । उनले गुनासो गर्दैथिइन्, ‘एक महिनाअघि उपचार गरेर फाइल यही छोडेर गइयो तर अहिले भेटिएकै छैन । रेकर्ड शाखामा गयो चिकित्सकको कार्यकक्षमा पुगेको छ भन्छन्, तर यहाँ आयो उतै होला भन्छन् ।’

७३ वर्षीया सासू राधिकाकुमारी सापकोटाको उपचारका लागि अस्पताल आइरहनुपर्ने र यहाँ फाइल नभेटिने समस्या सधैँ हुने गरेको उल्लेख गर्दै मञ्जुले भनिन्, ‘बिहान ५ बजे टोकन लिएपछि ७ बजे टिकट काटेर बिरामी लिएर आउँदा फाइल नै हराउँछ । कस्तो गैरजिम्मेवारपन हो यो ।’

अस्पतालले बिरामीको रेकर्ड फाइल अस्पतालमै सुरक्षित छोड्न भन्दै आए पनि अब फाइल नभेटिए केका आधारमा उपचार सुरु गर्ने ? यस्तो लापरबाहीले त जनताले सास्ती पाउने उनले बताइन् ।

मञ्जु मात्रै होइन कपिलवस्तुबाट उपचारका लागि आएकी ५८ वर्षीया सानीमाया कुँवर आफ्नो फाइल हराएपछि फोटोकपी गरेर राखेको कागजले उपचार गराइरहेको बताइन् । उनले भनिन्, ‘यसअघि आउँदा मेरो फाइल हराएकाले मैले फोटोकपी गरेर राखेको थिएँ, त्यसैका आधारमा उपचार गराइरहेकी छु ।’

लामो समयदेखि पाठेघरको क्यान्सरको उपचार गराउँदै आएकी उनले फाइल हराउने र समयमा उपचार नपाउने यस अस्पतालको बिशेषता नै भएको बताइन् । सानीमायाले भनिन्, “उपचारका लागि टाढाबाट आउनुपर्छ । यहाँ आउँदा कहिले के भन्छन् कहिले के । हामीले निकै सास्ती पाउने गरेका छौँ ।’

अस्पतालका कर्मचारीहरुको रुखो बोलीका कारण झनै समस्या बन्ने गरेको, उपचार राम्रो भए पनि केमो दिनुपर्ने बिरामीले पालो कुर्नुपर्ने, केमो अस्पतालमा नपाएर बाहिरबाट किन्नुपर्नेजस्ता समस्या हुनाका साथै सक्कल रिपोर्ट कार्ड हराउँदा उपचारमा समस्या हुने गरेको उनको गुनासो थियो ।

तनहुँबाट उपचारका लागि अस्पताल आएकी जमुना न्यौपाने अस्पतालका कर्मचारीको व्यवहारका कारण बिरामीले दुःख पाउने गरेको बताइन् ।

उपचारका लागि आएको पाँचदेखि सात दिनसम्म रोकिनुपर्ने उनको भनाइ थियो । पाँच वर्षदेखि जिब्राको क्यान्सरको उपचार गराउँदै आएकी जमुना अस्पतालमा छोडिएको फाइल हराउनु, समयमा उपचार नपाउनुजस्ता समस्याले सास्ती व्यहोर्नु परेको गुनासो गरिन् ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालले बिरामीको फाइल हराउने गुनासो आएको स्वीकारे । विभागका चिकित्सकहरूकोमा गएको कतिपय फाइल कर्मचारीले रेकर्ड शाखामा नबुझाउँदा समस्या हुने गरेको भन्दै उहाँले पूरै हराउने भन्ने नहुने जिकिर गरे ।

उपनिर्देशक नेपालले आन्तरिक फाइल राख्ने प्रणालीलाई चुस्त बनाउनुपर्ने अवस्था देखिएकाले अब सुधार्ने बताए । अस्पतालमा नेपालभरका साथै भारत र बङ्गलादेशबाट समेत क्यान्सरका बिरामी उपचारका लागि आउने गर्दछन् ।

एसियाको नमूना अस्पतालका रुपमा बनाइएको यस अस्पतालमा पछिल्ला वर्षहरुमा प्रशासनिक प्रणालीमा कमजोरी हुँदै जाँदा बिरामीले समयमा उपचार नपाउने, निजी अस्पताल र क्लिनिकमा जान बाध्य हुनेजस्ता समस्या भोग्नु परिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *