Categories समाचार

चुरियामाई सुरुङ मार्गको जीर्णोद्धार अन्तिम चरणमा, सर्वसाधारणका लागि खुला गरिँदै

बारा । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजङ्ग थापाको नेतृत्वमा निर्माण भएको चुरियामाई सुरुङ मार्गको जीर्णोद्धार अन्तिम चरणमा पुगेको छ ।

काठमाडौंलाई हेटौंडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको सुरुङ मार्ग दक्षिण एसियाकै पहिलो भएको बताइन्छ । स्विस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङडम अफ नेपाल’ नामक पुस्तकमा सुरुङ मार्गबारे स्पष्ट पार्दै चुरियामाई सुरुङ मार्ग बन्नुअघि छिमेकी देश भारतमा कुनै किसिमको सुरुङ मार्ग नबनेको उल्लेख गरेका छन् ।

Advertisement

उनको किताबमा भएको दस्तावेजले पनि चुरियामाई सुरुङ मार्गलाई दक्षिण एसियाको पहिलो मान्न सकिन्छ ।

Advertisement

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको उक्त सुरुङ मार्गसँगै नेपालकै चर्चित शक्तिपीठ चुरियामाई मन्दिर पनि रहेको छ । करिब २२५ मिटर लामो सुरुङ मार्गलाई बागमती प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार गरिरहेको छ ।

ऐतिहासिक महत्वको सुरुङ मार्ग परिसरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकारले ३६ लाख १३ हजार रुपैयाँ खर्च गरेर मर्मत गरिरहेको छ । मर्मतपछि सुरुङ मार्ग आमनागरिकको लागि खुला गर्ने तयारी छ ।

अहिले सुरुङ मार्गभित्र बत्ती जडान र पानी रसाएको ठाउँमा मर्मतसम्भार भैरहेको छ । सुरुङ मार्गको दुबै गेट क्षेत्रमा सजावटको काम पनि भैरहेको छ ।

पूर्व-पश्चिम राजमार्ग निर्माणअघि भारतबाट आयातित सामग्रीलाई चुरियामाई सुरुङ मार्ग हुँदै भीमफेदीसम्म लैजाने र त्यहाँबाट मानिसले बोकेर काठमाडौंसम्म लग्ने गरिन्थ्यो । (साभार – नेपाल प्रेस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *