Categories रासस

दैनिक एक लाख थान पुस्तक जनक शिक्षामा छापिँदै

Advertisement

भक्तपुर । आगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड १९ लाख थान पाठ्यपुस्तक छपाइ सम्पन्न गरेको छ । 

आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रले एक करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा अब ५५ लाख थान पाठ्यपुस्तक मात्रै छपाइ गर्न बाँकी रहेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।

Advertisement

चालु शैक्षिक सत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो । 

Advertisement

“आउँदो शैक्षिक सत्रका लागि एक करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड १९ लाख थान पाठपुस्तक छपाइ सम्पन्न गरिसकेका छौँ”, केन्द्रका प्रबन्ध निर्देशक झाले भने, “अब बाँकी ५५ लाख थान पाठ्यपुस्तक पनि फागुन महिनाभित्रमा छपाइ सम्पन्न गर्नेछौँ ।” उनले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखिसकेको बताउँदै पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४ सै घण्टा चलिरहेको जानकारी दिए । 

प्रबन्ध निर्देशक झाले भने, “हामीले अहिले २४ सै घण्टा दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेका छौँ, २४ सै घण्टा पुस्तक पछाइको काम भइरहेको छ । छपाइ सकिएका पुस्तक सातवटै प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पुर्याउने काम भइरहेको छ । गत वर्ष जस्तै यस वर्ष पनि हामी चैतदेखि पुस्तक वितरणको काम सुरु गर्छौं र समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौँ ।”

उनले चैतदेखि पुस्तक वितरण सुरु गरी शैक्षिक सत्र सुरु हुँदा विद्यालय विद्यालयमा पुस्तक पुर्‍याएर विद्यार्थीको हातहातमा पुस्तक पुग्ने गरी तयारी गरेको बताउँदै कुनै हालतमा पनि पुस्तक अभाव नहुने र वितरणमा पनि ढिलाइ नहुने बताए । शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखानालाई छपाइ तथा वितरणको जिम्मेवारी दिएको छ । 

केन्द्रका प्रबन्ध निर्देशक झाले भने कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिन सरकारसँग माग गरेको भए पनि कक्षा ५ देखिको जिम्मेवारी पाएको भन्दै अबदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिए  केन्द्रले फागुनभित्रै पुस्तक पछाइ सम्पन्न गरेर चैतमा वितरण सम्पन्न गर्नसक्ने बताए ।

सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यस वर्ष त्यसलाई खुम्च्याउँदै कक्षा ५ को पुस्तक छपाइको जिम्मेवारी निजीलाई नदिई केन्द्रलाई थप गरेको हो । 

पाठ्यक्रम विकास केन्द्रले कात्तिकमै शिक्षा मन्त्रालयमा पत्राचार गर्दै पुस्तक छपाइबारे छिटो निर्णय गर्न पत्राचार गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको गत मङ्सिर १२ मा केन्द्रमै बसेको बैठकमा प्रबन्धक निर्देशक झाले सरकारले यसबारेमा चाँडै निर्णय गरी १ देखि १२ सम्मको आवश्यक पर्ने पुस्तक छपाइको जिम्मेवारी केन्द्रलाई दिन माग गरेका थिए । 

केन्द्रले जिम्मेवारी पाउने आशामा कक्षा ३ का केही किताब छपाइसमेत गरिसकेका थियो । केही वर्ष अगाडिसम्म जनक शिक्षाले पुस्तक छपाइ र वितरणमा ढिलाई गरेर पाठ्यपुस्तकको अभाव भएको भन्दै विवादमा आइरहे पनि विगत तीन वर्षयता भने केन्द्रले पुस्तक छपाइ र वितरण समयमै सम्पन्न गरेको भन्दै प्रशंसा बटुलेको छ ।-रासस

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *