Categories लेख विचार

उहिलेको पीढ़ीले सिकाएको र अहिलेको पीढ़ीले बिगारेको “धार्मिक सद्भाव”

वीरगन्ज । म गाउँमा जन्मे र हुर्के त्यही भएर होला आफुलाई गँवार भन्न रुचाउ छूँ। म बच्चा हुदा वर्षको ३६५ दिन एका बिहानै हनुमान चालीसाको पाठ गर्ने मेरो हजूरबुवा रमजानको महीनाको अन्त तीर ३ देखी ५ दिन सम्म निर्जला रोजा बसेको सुनाउनु हुन्थ्यो र एक मेरो पल्लो घरकी छिमेकी मुस्लिम समुदायकी काकी पर्ने (मुहर्रम काका की श्रीमती) ले छठ पूजा बिधि पुरयाई पूरा गरेको मैले देखेको थिए। उहाहरु एक अर्काको धर्म प्रतिको आस्थाले निस्वार्थ भावनामा धार्मिक या मजहबी भाकल पूरा गर्नु हुन्थ्यो।

हजूरवुवा रोजा बस्दा पनि हनुमान चालीसाको पाठ गर्न कहिले बिर्सनु हुन्नथ्यों भने काकी छठ ब्रत गरे पनि नमाज पढ़न बिर्सनु हुन्नथ्यों । गत छठ पुजामा पनि गाउँका दुबै समुदायका केही काका र दाई पर्नेहरु समूहमैं भेला भई छठ पूजा सकेर फिर्ता आउदै गरेको छठवर्तीहरु संग प्रसाद मांगेको गाउँ मैं देखियो। हजुरबुवा र काकीहरु अशिक्षित भए पनि धार्मिक सद्भावना लाई संतुलित गरेर राखेका थिए। उहाहरु यदि आज बाचेको भए हिन्दू समुदाय बाट तिरस्कार र मुस्लिम समुदाय बाट फतवा झेलनु निश्चित नै हुन्थ्यो।

त्यति बेला मेरो गाउँ तीर मदरसा भन्ने शब्द सुनिएको थिएन र म बच्चाहरुको लहलैहमा केही दिन मस्जिद मैं गई उर्दू वर्णमालाको (अलिफ़, बे, ते, से……) कंठस्त गरेको अहिले सम्म याद छ। त्यति बेला संस्कृत र उर्दूको सिकाई धर्म ग्रन्थ बुझ्नको लागी मात्रै हुने गर्थ्यो। प्रत्येक बिहान ठीक चार बजे एका तीर संत बिकल बिहारी ज्यूँको “मंगल भवन अमंगल हारी….” भजन शुरू हुन्थ्यो भने अर्को तीर “अल्लाह हु अकबर” को अजान शुरू हुन्थ्यो त्यस पछि मात्र गाउँलेहरुको त्यस दिनको दिनचार्यको शुरुवात हुने गर्थ्यो।

उती बेला धर्म या मजहब ब्यक्तिको लगी निजी र व्यक्तिगत बिचार हुने गर्थ्यो। हामी दुबै समुदायका बच्चाहरु बिद्यालय पश्चात् सँगै मस्जिद गई महलुदको प्रसाद खुर्मा/मलिदा (खुर्मा : एक प्रकारको मिठाई, मालिदा : रोटीको टुक्रा र शखरखण्ड ले बनेको लड्डू ) खान्थे भने सँगै मन्दिर गई बेलुकी आरती पश्चातको प्रसाद पनि खान्थे।

हजूरबुवा या समाजका अगुवाहरुले धर्म र मजहब परलौकिक कुरा हो र व्यक्तिगत जीवन इहलौकिक कुरो हो भनेको अहिले पनि समझिन्छु। परलोक भनेको आस्थावानले मानेको अर्को कल्पनाको संसार हो जहाँ मरणोपरांत गईंन्छ। इहलोक अर्थात पृथ्वीलोक र पृथ्वी माथि मान्छेको भौतिक जन्म देखी मरूंजेल सम्मको कर्मको आधारमा परलौकिक जीवन आधारित हुन्छ दुबै समुदायको मान्यता र आस्था हुन्थ्यो। राम्रो कर्म गरे राम्रो जीवन नराम्रो कर्म गरे नराम्रो जीवन पाइन्छ भने आस्था हुन्थ्यो। त्यही भएर होला त्यति बेला धार्मिक र मजहबी द्वन्द कस्तो हुन्छ भने कुरो कहिले सुनिएन। शिक्षित नभए पनि उहाहरुको यों बिचार हाल शिक्षित वर्ग भन्दा कती उत्तम थियो भनेर सोचदा म आश्चर्यचकित हुन्छु ।

अहिले नया शिक्षित पीढ़ीको लागी उर्दू या अरबी भाषाको आयात र संस्कृत भाषाको श्लोक फैशन भएको छ। “जय श्रीराम” र “अल्लाह हु अकबर” भन्ने शब्द धर्म र मजहब लाई सिमित बनाएको छ भने भगवा कपड़ा, दाढ़ी, टोपी र तिलक इत्यादि धार्मिक र मजहबी पहिचान बनेको छ। कसैको आस्थालाई ठेस पुरयाउनु, कसैको भावना लाई चोट पुरयाउनु, कसैको धर्मस्थलमा तोड़फोड़ गर्नु, कसैको धर्म सम्बन्धी उच्छलंग गतिबिधि गर्नु, कसैको धर्म परिवर्तन गर्नु/गराउनु, सामाजिक, धार्मिक र सामुदायिक सद्भावमा खलल पार्नु यस्ता गतिबिधिले परलौकिक जीवन बिलासमय हुन्छ भने मिथ्या सोच अहिलेको पीढ़ीमा ट्रेंडिंगमा छ।

यसै सन्दर्भमा हाम्रो गाउँ तीर एक प्रसिद्ध भनाइ छ ” डेढ़ अक्षरीया डाइन बहुते ख़तरनाक होखेली” अर्थ : जादूटोनाको अधूरो ज्ञान भएको बोक्सी सब भन्दा बढ़ी ख़तरनाक हुनछे भन्नुको तात्पर्य अधूरो ज्ञान दिने धार्मिक या मजहबी व्यक्ति ख़तरनाक हुन्छन। यस्ता अर्धज्ञानी संग ज्ञान प्राप्त गरे सामाजिक, सामुदायिक, धार्मिक र मजहबी द्वन्द नै हुन्छ सामाजिक, सामुदायिक या धार्मिक सद्भाव कहिले पनि कायम हुन सक्दैन।

शिक्षाको डिग्री प्राप्त गरेर शिक्षित हुने भए धर्म या मजहब को वर्तमान अवस्था पहिला भन्दा अझ बढ़ी संतुलित, संगठित र व्यवस्थापित हुने थियो तर छैन। मान्छे शिक्षित हुँदै गए धार्मिक र मजहबी उन्माद बढ़दै गयो। नेता शिक्षित भए र आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिको लागी धर्म र मजहब लाई आफ्नो वोट बैंक बनाई राजनीती संग जोड़े। कुनै पार्टिले पार्टिगत धार्मिक र मजहबी संगठन नै बनाए त कसैले आयोग नै बनाए। कुनै राजनीती पार्टीले त आफ्नो मुख्य एजेंडा नै धर्म लाई बनाए।

ब्यपारी शिक्षित भए र आर्थिक स्वार्थ पूरा गर्न धर्म र मजहब लाई व्यपार संग जोड़े। धार्मिक र मजहबी व्यक्तिले धर्म र मजहब लाई आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति र आफ्नो वर्चशश्वताको लागी धार्मिक र मजहबी द्वन्द सृजना गरे। पेशागत व्यक्तिहरुले आफ्नो पेशागत फाइदाको लागी धर्म र मजहब लाई पेशा संग जोड़े।

लेखक : अशोक कुश्वाहा ( भाषाकर्मी तथा लेखक )

Leave a Reply

Your email address will not be published. Required fields are marked *