Rato Pana
समाचार

मूर्ति विसर्जन भए पनि ईशनाथमा कर्फ्यु यथावत्

रौतहट । रौतहटको ईशनाथ नगरपालिका स्थित चार दिनको रस्साकस्सीपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यु भने यथावत् रहेको छ।

ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा गत शुक्रबारदेखि थन्किएको सरस्वतीको मूर्ति सोमबार अपराह्न कर्फ्यु अवधिभित्रै पुरानै सहमतिअनुसार  विसर्जन गरिएको छ।  मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलको सक्रियतामा सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो।

साबिक स्थान घिउरा गाउँको उत्तरपट्टि विद्यालय छेउको सार्वजनिक पोखरीमा मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्। तर गत शनिवार स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु भने हालसम्म यथावत् रहेको छ। त्यसैगरी उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न ५०० नेपाल प्रहरी र २०० सशस्त्र गरी परिचालन गरिएको ७०० प्रहरी हालसम्म फिर्ता भएका छैनन्।  ईशनाथ ७ घीउरा गाउँमा डिजे बाजा सहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँ छेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने स्थानीय प्रशासनको रोहवरमा गत शनिवार दुईपक्षीय सहमति भएको थियो।

सहमति अनुसार  मूर्ति सेलाउन लैजाने समूहमाथि  घिउरामा मुस्लिम समुदायले घरको छत बाट ढुङ्गा हान्दा कैयौँ मानिस घाइते भएपछि स्थिति नियन्त्रणमा लिन सिडिओ हिरालाल रेग्मीले एक सूचना जारीगर्दै सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी वडा ६ र ७ मा कर्फ्यु आदेश जारी गरेका थिए। कर्फ्यु अवधिमै उश्रृंखल गतिविधि भएपछि भोलिपल्ट आइतबार देखि कर्फ्यु क्षेत्र फराकिलो बनाएको थियो।

सिडिओ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै ईशनाथ नगरपालिका वडा २,३,४,५, ६र ७ मा समेत अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका थिए।

पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैया देखि जयनगर सम्म चारकिल्ला भित्र जारी भएको कर्फ्यु हालसम्म यथावत् रहेको छ।

मधेस प्रदेश नेपाल प्रहरी सङ्गठन प्रमुख डिआइजी यज्ञविनोद पोखरेलका अनुसार ईशनाथको ठुलो विवाद मूर्ति विसर्जन गर्ने काम भएको छ । हाल त्यहाँको अवस्था सामान्य हुँदै गएको छ । पूर्ण रूपमा सामान्य भएपछि क्रमशः त्यहाँ तैनाथ प्रहरी फिर्ता बोलाइने छ। त्यस्तै आज दिउँसो सम्म कर्फ्यु हटाइने बारे छलफल भइरहेको डिआइजी पोखरेलले जानकारी दिएका छन् ।

ईशनाथ ७ घिउरामा सरस्वतीको मूर्ति विसर्जनको विषयमा दुई समुदायबिच विवाद हुँदा त्यहाँ केन्द्रित भएका नेपाल प्रहरीका डिआइजी पोखरेल, सशस्त्र प्रहरीका डिआइजी दीपेन्द्र शाह, राष्ट्रिय अनुसंधानका डिआइजी सञ्जय यादव तीनदिन पछि सोमवार साँझ फर्केका छन्।

घटनालाई साम्य पार्न रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ, सशस्त्र प्रहरीका एसपी माधव रेग्मीको संयुक्त कमान्डमा ईशनाथ क्षेत्रमा ७०० प्रहरी परिचालन गरिएको थियो। रातोपाटीबाट साभार

सम्वन्धित समाचार

Leave a Comment