वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित कृषि तरकारी बजार, खानेपानी आयोजना र सार्वजनिक नहरको जग्गा अतिक्रमण गरि बनाइएको घर, बैठाका, पसललगायत विभिन्न संरचना हटाइएको छ ।
महानगरपालिका प्रमुख राजेशमान सिंहको निर्देशनमा आज भौतिक पुर्वधार अतिक्रमण नियन्त्रण समितिका संयोजक तथा वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसिया र वडा नम्बर १६ का वडा अध्यक्ष पशुराम चौरसियको संयुक्त पहलमा अतिक्रमित जग्गा खाली गराइएको हो ।
भौतिक पुर्वधार अतिक्रमण नियन्त्रण समितिका संयोजक तथा वडा नम्बर ५ का वडा अध्यक्ष चौरसियाले प्रमुख ज्यूको निर्देशन अनुसार महानगर भित्रका अतिक्रमित जग्गाहरु खाली गराउने अभियानलाई निरन्तरता दिइएको बताए । उनले भने, `कुनैपनि बहानामा सार्वजनिक जग्गा निजी कार्यको लागि भोगचलन गर्न दिइनेछैन । र यसमा नगर प्रमुख सिंहको ठाडो निर्देशन रहेकोले अतिक्रमण गरिएको जग्गा खाली गर्नु बाहेक अर्को उपाय नरहेको जिकिर गरे ।´
नगर प्रमुख सिंहका सल्लाहकार हरि पोखरे , नगर प्रहरी प्रमुख हरि प्रसाद भुसाल सहितको उपस्थितिमा अतिक्रमित जग्गा अतिक्रमण मुक्त बनाइएको प्रेस सल्लाहकार महेश दासले जानकारी गराए ।






