Rato Pana
समाचार

सडक दुर्घटनामा भोजपुरी फिल्म स्टार आँचलसहित ९ जनाको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका चार स्टार कलाकारसहित ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार वेब सिरिज ‘पञ्चायत २’ फेम्ड अभिनेत्री आँचल तिवारी, अर्की भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव, गायक छोटू पाण्डे र विमलेश पाण्डेको दुर्घटनामा मृत्यु भएको छ ।

बिहारको कैमुरको देवकाली गाउँ नजिकैको जीटी रोडमा आइतबार साँझ यो सडक दुर्घटना भएको हो । सोमबार बिहान मृतकहरुको सनाखत भएको हो । त्यसपछि प्रहरीले विज्ञप्ति जारी गरी मृत्युको पुष्टि गरेको हो ।

तिवारीले ‘पञ्चायत २’ मा मुख्य अभिनेत्री सान्विकाको चरित्र रिंकीकी साथी रविनाको भूमिका निर्वाह गरेकी थिइन् । मृतकको सनाखत सोमबार भएको मोहनियाका डीएसपी दिलीप कुमारले जानकारी दिएका छन् । मृत्यु हुने अन्य पाँच जना पनि उक्त गाडीमै सवार थिए ।

प्रत्यक्षदर्शीका अनुसार एसयूभी कार र मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल र एसयूभी अर्को लेनमा पसेका थिए । त्यसपछि अगाडिबाट आएको तीव्र गतिको ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट फरार भएका छन् ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले पनि मृतकप्रति श्रद्धाञ्जली दिएका छन् ।

सम्वन्धित समाचार

Leave a Comment