वीरगन्ज । दुई प्रधानाध्यापकको प्रयासमा ७ पटकसम्म निष्कर्ष बिहिन अभिभावक भेला प्रधानाध्यापक विनोद मेहताको प्रयासले ८ औं पटकमा सफलतापूर्वक सम्पन्न भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नं. २४ मा रहेको श्री शारदा माध्यमिक विद्यालयको शनिबार भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका लागि चार जना अभिभावकको छनौट गरेको छ ।
भेलाले मतुका खातुन, हदिस मियाँ,रिता देवी कुर्मीन र श्याम कुशवाहालाई छनौट गरेको हो । अभिभावकको भेलाबाट छनौट भएका सदस्य, वडाको शिक्षा समितिले मनोनित गरेका दुई जना, वडाका अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि, विद्यालयको शिक्षक अभिभावक संघको प्रतिनिधि, उत्कृष्ट चन्दादाता मध्येबाट एक जना प्रतिनिधि सहितको व्यवस्थापन समिति गठन हुने व्यवस्था शिक्षा नियमाबलीमा रहेको छ ।
भेलामा उपस्थित वीरगन्ज महानगरपालिकाका ४ जना वडा अध्यक्षले उत्कृष्ट विद्यालय बनाउन अभिभावकहरुको महत्वपूर्ण भूमिका हुने जिकिर गरे । वहाँहरुका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर खस्किदा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुका साथै यस पटक आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि शुद्ध अभिभावकहरुको मात्रै भेला भएको देखदा खुसी व्यक्त गरेका थिए ।
वीरगन्ज महानगरपालिकाका शिक्षा अधिकृत हरि राउत कुर्मीको संयोजकत्वमा भएको अभिभावक भेलामा वडा न. २४ का वडा अध्यक्ष विजय कुर्मी, वडा न. २० का पराग सिंह, वडा न. २६ का शम्भु मिश्र र वडा न. २७ का वडा अध्यक्ष लगायतले शैक्षिक गुणस्तरका विषयमा बोलेका थिए ।
दश जोड दुई सम्म अध्यापन हुने उक्त विद्यालयमा पछिल्लो समय शैक्षिक अवस्था खस्किदै गएकोमा अभिभावकहरुले चिन्ता व्यक्त गरेका थिए । साथै केही महिना पहिला सरुवा भएर आउनुभएका प्रधानाध्यापक मेहताको सकारात्मक प्रयासले विद्यालयको शैक्षिक अवस्थामा सुधार आउने आशावादी रहेको बताएका छन् ।