Categories समाचार

वीरगञ्ज उद्योग वाणिज्य संघ : अध्यक्षको बदमाशीका कारण महासचिवको राजीनामा

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव आशिष् कुमार लाठले पदबाट राजीनामा दिएका छन् । महासचिवको विधानसम्मत प्रशासनिक कार्यमा अनाहक शङ्का गरिएको आरोप लगाउँदै उनले महासचिव पदबाट राजीनामा दिएका हुन् ।

लाठले महासचिवको हैसियतले सङ्घको लेखा सम्बन्धी विवरण माग गर्दा समेत उपलब्ध नभएको बताएका छन् । सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाललाई राजीनामा पत्र लेख्दै लाठले मागिएको विवरण उपलब्ध नगराएर आफूलाई अपहेलित गरेर आफ्नो विधानसम्मत प्रशासनिक कार्यमा ठाडो हस्तक्षेप भएको बताउँदै बुधवारदेखि महासचिवको पदबाट राजीनामा दिएको जनाएका छन् ।

Advertisement

सङ्घको महासचिवको हैसियतले काम कारबाहीमा सक्दो सहयोग गर्दै आए पनि त्यसलाई थप प्रभावकारी बनाउन लेखा सम्बन्धी विवरण माग गर्दा अध्यक्षबाट सोधेर नै उपलब्ध गराउन सकिने कर्मचारीहरूको जवाफबाट आफू अचम्मित परेको उनले बताएका छन् । “यस विषयमा यहाँलाई बोधार्थ जनाउँदै सम्बन्धित कर्मचारीसित लिखित जवाफ माग्दा कर्मचारीको ठाउँमा यहाँकै पत्र प्राप्त हुँदा झनै अचम्म लागेको छ,” उनले सङ्घका अध्यक्ष अग्रवाललाई भनेका छन् ।

Advertisement

लाठका अनुसार कार्यसमितिका केही सदस्य र पदाधिकारीसमेतको लापरबाहीका कारण लेखा सम्बन्धी अति गोपनीय विवरण सामाजिक सञ्जालमा बाहिरिए पछि अध्यक्ष अग्रवालले महासचिवलाई समेत आफ्नो अनुमति बिना लेखा सम्बन्धी विवरण उपलब्ध नगराउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । “त्यही भएर महासचिव समेतले लेखा सम्बन्धी विवरण माग्दा अध्यक्षको अनुमति लिनु पर्ने भनेर यहाँले नै सचिवालयलाई आदेश दिनु भएको हो,” राजीनामा पत्रमा लेखिएको छ ।

अध्यक्ष अग्रवालले देखाएको व्यवहोराबाट आफू लज्जित भएको लाठको भनाई छ । “साथै, यहाँको पत्रानुसार महासचिव हैसियतले मैले अध्यक्षसित प्रयाप्त समन्वय अथवा सामञ्जस्य गर्न नसकेको र सङ्घको हितमा काम गर्न नसकेको भनेर सन्देशसमेत प्राप्त भएको छ । यहाँको यस्तो अनपेक्षित एवम् अप्रत्यक्ष आरोपबाट म झनै लज्जित भएको छु,” उनले लेखेका छन् ।

राजीनामाको विषयमा बुझ्न लाठसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *