श्याम सरार्फ । वीरगन्ज । नेपाल अग्रवाल महिला मञ्चको आयोजनामा बिहीबार धुमधामले गणगौर बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ । होलीको समापनसँगै चैत्र शुक्ल तृतीया का दिन राजस्थानी तथा गुजराती समुदाय मा प्रचलित यो गणगौर (गौरा ) नेपाल मा पनि मारवाडी समुदाय माझ प्रचलित रहेको छ। बसन्त ऋतु, खेतीपाती र वैवाहिक मान्यताप्रति यो विश्वास राखिने यो पर्व हो ।
होलीको भोलिपल्टदेखि लगातार १६ दिनसम्म शंकरपार्वती रुपी पिण्डको पुजा हुन्छ । अविवाहितले असल श्रीमान र विवाहितले श्रीमानको दीर्घायु, स्वास्थ्य र कल्याणकासाथै सुःखी विवाहित जीवनकालागि गणगौरलाई पुज्छन् ।
अन्तिम तीन दिन यो पर्व चरमोत्कर्षमा हुन्छ । शंकरपार्वतीलाई नयाँ पोसाक लगाइन्छ । शिरमा विभिन्न पुजन सामग्री भएका कलश कासाथ जलासय किनार वा इनारमा प्रतिमाको विर्सजन गरेपछि पर्वको समापन हुन्छ । यो अवसरमा मैदा, घिउ र चीनीले बनाइने फूल झैं आकारको मिठाई घेवर बाँडने चलन छ । इन्द्रधनुषी पहिरनमा सजिएका महिलाहरूद्धारा लोक नृत्य र गीतको क्रम चल्ने गर्दछ ।
नवविवाहिताले विहेको पहिलो वर्ष अनिवार्य रूपमा यो पर्व मनाउँछन्, यो अवसरमा आमाबुवाले छोरीलाई गच्छेअनुसारको लता, कपडा र मिठाई दिन्छन् ।छोरीचेलीले चन्द्र, सूर्य, फुल र ज्यामितिय चित्र आकारको मेहन्दीले सिंगार्छन् । यो पर्वपछि यो वर्षकालागि मारवाडी महिलाको सम्पूर्ण त्यौहारको समापन हुने मान्यता चलि आएको छ ।
संस्थाकि अध्यक्ष मिरा खेतानको अध्यक्ष्तामा घडिअर्वा पोखरिमा आयोजित बिदाइ कार्यक्रममा नाचगान र खानपानको व्यवस्था गरि खुसी साटासाट गरिएको संस्थाकि उपाध्यक्ष नुतन सरावगीले जानकारी गराउनुभयो ।
सो अवसरमा रेनु अग्रवाल, सोनी चाचान, प्रिती तुल्सियान, रितु खेतान, स्वेता पटवारी, देवकी चाचान, पुष्पा गाडिया लगायतको उपस्थिति रहेको थियो ।


