Categories समाचार

आज राम नवमी, वीरगन्जको राम जानकी मन्दिरसहित राम मन्दिरहरुमा दर्शनार्थीहरुको भीड

वीरगन्ज । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ ।

देशका विभिन्न स्थानमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् ।

Advertisement

वीरगन्जको वडा नम्बर १० घडिअर्वा पोखरी अगाडि रहेको राम जानकी  मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस मन्दिरमा आज दिनभरि विभिन्न कार्यक्रम गरि राम नवमी मनाउने योजना सार्वजनिक गरिएको छ । बिहान नगरबासीको उत्साहजनक सहभागितामा शोभा यात्रा निकालिएको थियो ।

Advertisement

आज स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि चलिआएको को ।

साथै यसै अवसरमा कुर्मी सशक्तीकरण मञ्च पर्साको आयोजनामा वीरगन्ज -२४ रामगढवा स्थित रहेको कुर्मी सेवा सदन धर्मशालामा अखण्ड अष्टयाम हुँदै छ । त्यहाँबाट पनि बिहान शोभा यात्रा निकालिएको थियो ।

धार्मिक शास्त्रअनुसार भगवान् श्रीरामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि नमूना मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *