वीरगञ्ज । वीरगञ्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५ गते आज बुधबारका दिन आयोजना हुने रामनवमी महोत्सव र शोभायात्रमा सहभागी हुन महानगरका मेयर राजेशमान सिंह र वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले महानगरवासीलाई सार्वजनिक अपिल गरेका छन् ।
घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा बुधबार रामनवमीका दिन राम जन्मोत्सव आयोजना गरिनुका साथै भब्य शोभा यात्रापनि निकालिदैंछ ।
आज बुधबार बिहान ७ बजे मन्दिर परिसरबाट निकालिने शोभा यात्रा तथा मन्दिर परिसरमा हुने राम जन्मोत्सवमा सहभागी हुन महानगरका मेयर सिंहले सामाजिक सञ्जालबाट सार्वजनिक आह्वान गरेका छन् । यस्तै वडा नम्बर १० का वडाध्यक्ष कानुलेपनि मंगलबार एक अपिल जारी गर्दै बुधबारको शोभा यात्रासहितको राम जन्मोत्सवमा सहभागी भई भब्य रुपमा सफल पारिदिन वडाबासी तथा महानगरबासीसंग अपिल गरेका छन् ।
बुधबार श्रीरामजानकी मन्दिर परिसरबाट बिहान ७ बजे झाँकी र बाजागाजासहित भव्य शोभा यात्रा निकालेर महानगर परिक्रमा गरिनेछ भने बिहान ११ बजेदेखि मन्दिर परिसरमै भजनकिर्तनको आयोजना हुनेछ । यस्तै दउँसो १२ बजेदेखि श्रीराम उत्सवको प्रसाद वितरण गरिने र साँझ ४ बजेदेखि मन्दिर परिसरमा रामायण झाँकी प्रदर्शनपनि गरिने पूजा समितिका अगुवा प्रभाकर गुप्ताले जानकारी दिए ।
यस्तै बुधबार नै साँझ ६.३० बजे दीप प्रज्वलन तथा महाआरती र बेलुकी ७ बजेदेखि प्रसाद वितरण गर्ने कार्यक्रम रहेको सह आयोजक घडिअर्वा स्पोर्टस् क्लबका अध्यक्ष सन्तोष साह कानुले जानकारी दिए।
वीरगञ्ज महानगरपालिकाले ३० बर्षपछि अतिक्रमण मुक्त गरी सौनणदर्यकरण गरेको घडिअर्वाको श्रीरामजानकी मन्दिरमा भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनकै दिन गत माघ ८ गते भगवान श्रीराम, माता सीता र हनुमानको मूर्तीको प्राण प्रतिष्ठा गरिएको थियो ।


