वीरगन्ज । बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर गोली चलाएको आरोपमा हिरासतमा लिइएका एक युवकले बुधबार आत्महत्या गरेका छन् ।
गत १४ अप्रिलमा सलमानको घरबाहिर गोली चलाएको मामिलामा पक्राउ गरेर हिरासतमा लिइएका ती युवकले आत्महत्या गरेका हुन् ।
पुलिसको हिरासतमा रहेका बेला आत्यहत्या कोसिस गरेपछि गम्भीर घाइते भएका अनुज थापनलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका हुन् ।
गोली चलाएको घटनामा संलग्न ती युवकमाथि प्रहरीले अवैध हतियार उपलब्ध गराएको आरोप लगाएको थियो ।
प्रहरीका अनुसार अनुजले हिरासतमै आत्महत्या कोसिस गरेपछि अस्पतालमा भर्ना गरिएको थियो। तर उनको अस्पताल लगेको केही बेरमै ज्यान गएको हो ।
एक साता लामो अनुसन्धानपछि प्रहरीले उनीसहित दुईजनालाई पञ्जाबबाट पक्राउ गरेको थियो। यसमा ३७ वर्षीय सोनु सुभाष चन्द्र र ३२ वर्षीय अनुज थापन थिए ।
समाचार अनुसार अनुज लरेन्स बिश्नोई ग्याङको सम्पर्कमा थिए । उनी ट्रकमा सहायकका रुपमा काम गर्थे । मुम्बईको क्राइम ब्रान्चले सुरतको तापी नदीबाट एउटा पेस्तोल र केही गोली बरामद गरेको थियो ।
प्रहरीले सलमानको घरअगाडि १४ अप्रिलमा गोली चलाउन त्यही पेस्तोल प्रयोग भएकव जनाएको छ । प्रहरीका अनुसार यो हतियार अनुज र सुभाषले उपलब्ध गराएका थिए ।






