वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा एक महिलासँग दुर्व्यवहार गरेको आरोप लागेका क्रमचारी पक्राउ गरेका छन्।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत् अगन्ध चौरसियाले सोही शाखामा अन द जब ट्रेनिङ (ओजेटी) का रूपमा कार्यरत रहेकी दुई जना छात्रासँग यौन प्रस्ताव राख्दै दुर्व्यवहार गरेको आरोप लागेको हो ।
चौरसियाविरुद्ध दुवै जना छात्राहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा आइतबार निवेदन दिएपछि उनलाई हाल प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले चौरसिया प्रहरी हिरासतमा रहेको पुष्टि गरे ।
एसपी ढुङ्गेलले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउँदै पीडित छात्राहरूले प्रमाण जुटाएर आरोप पुष्टि गरेको खण्डमा आफूले कानुन अनुसार कारबाही गर्ने बताए ।
पीडित भनिएका छात्राहरूका अनुसार आकस्मिक कक्षमा कार्यरत चौरसियाले लामो समयदेखि ओजेटीमा आउने छात्राहरूलाई विभिन्न किसिमको प्रलोभन तथा धाक धम्की दिएर अनैतिक क्रियाकलाप गर्न दबाब दिँदै आएका छन् । विभिन्न शैक्षिक संस्थाबाट ओजेटीका रूपमा आउने छात्राहरूलाई चौरसियाले आफूले भने जस्तो नगरेको खण्डमा राम्रो अङ्क नदिने जस्तो धम्की समेत दिने गरेको पीडित एक छात्राले यात्रा डेलीलाई बताइन ।
प्रहरीले समेत आफूलाई सहयोग नगरेको छात्राको आरोप छ । ‘हामीलाई मिलापत्र गर्न प्रहरीबाट नै दबाब आइरहेको छ,’ उनले भनिन्, ‘दोषीलाई कारबाही गर्ने ठाउँमा प्रहरीले हामीलाई नै उल्टै अनावश्यक प्रश्नहरू गरेर दबाब दिन खोजिरहेको छ । मिलापत्र गरिहाल भन्ने किसिमको कुरा गर्दै छ ।’






