वीरगन्ज । महिला अधिकारकर्मीहरु कहाँ छन् भनेर वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले प्रश्न गरेका छन् ।
प्रमुख सिंहले आफ्नो समाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै यस्तो प्रश्न गरेका हुन । उनले लेखेका छन, “कहाँ छन महिला अधिकारकर्मीहरु, किन मौन हुनुहुन्छ उहाँहरु?” ।
हिजो उजागर भएको नारायणी अस्पतालमा छात्राहरु माथि भएको दुर्व्यवहार सन्दर्भमा समाजिक सञ्जाल मार्फत महिला अधिकारकर्मीहरुसंग प्रश्न गरेका छन् ।
नारायणी अस्पतालमा छात्रासंग दुर्व्यवहार गरेको आरोप लागेका कर्मचारीलाई हिजो प्रहरीले पक्राउ गरेको छ ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत अगन्ध चौरसियाले सोही शाखामा अन द जब ट्रेनिङ (ओजेटी) का रूपमा कार्यरत रहेकी दुई जना छात्रासँग यौन प्रस्ताव राख्दै दुर्व्यवहार गरेको आरोप लागेको हो ।
चौरसियाविरुद्ध दुवै जना छात्राहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा आइतबार निवेदन दिएपछि उनलाई हाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
पीडित भनिएका छात्राहरूका अनुसार आकस्मिक कक्षमा कार्यरत चौरसियाले लामो समयदेखि ओजेटीमा आउने छात्राहरूलाई विभिन्न किसिमको प्रलोभन तथा धाक धम्की दिएर अनैतिक क्रियाकलाप गर्न दबाब दिँदै आएका छन् । विभिन्न शैक्षिक संस्थाबाट ओजेटीका रूपमा आउने छात्राहरूलाई चौरसियाले आफूले भने जस्तो नगरेको खण्डमा राम्रो अङ्क नदिने जस्तो धम्की समेत दिने गरेको पीडितको भनाइ रहेको छ ।
यस्तो घटना उजागर हुदा समेत महिला अधिकारकर्मीहरुले चासो नदिना प्रहरीले समेत आफूलाई सहयोग नगरेको छात्राको आरोप छ । ‘हामीलाई मिलापत्र गर्न प्रहरीबाट नै दबाब आइरहेको छ,’ उनले भनिन्, ‘दोषीलाई कारबाही गर्ने ठाउँमा प्रहरीले हामीलाई नै उल्टै अनावश्यक प्रश्नहरू गरेर दबाब दिन खोजिरहेको छ । मिलापत्र गरिहाल भन्ने किसिमको कुरा गर्दै छ ।’







