वीरगन्ज । भारतसँग सीमा जोडिएको पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका जेठ १० गतेदेखि बन्द हुने भएको छ । जेठ १२ गते हुने लोक सभा निर्वाचनलाई लक्षित गरेर जेठ १० गतेदेखि सीमा नाका बन्द गर्न लागिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सूचना जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।
०८१ जेठ १० गते बिहान ६ बजेदेखि १२ गते बेलुकी ६:०० बजेसम्म सम्पूर्ण सीमा नाका बन्द रहने उनले बताए । भारतीय सुरक्षा निकायसँग बैठक गरेर यसअघि नै निर्वाचन सुरक्षाका लागि ४८ घण्टा सीमा सिल गर्ने निर्णय भएको थियो ।






