वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले २ करोड बढीको भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ । पर्साका विभिन्न स्थानबाट प्रहरीले दुई करोड १ लाख ४९ हजार १४७ रुपैयाँ बराबरका भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोकस्थित सडकखण्डबाट १ करोेड १५ लाख एक सय ४७ रुपैयाँ बराबरको औषधी तथा खुद्रा सामान नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेले जानकारी दिए ।
उनकाअनुसार बरामद औषधी तथा खुद्रा सामान आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।
त्यस्तै प्रहरीले पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ डकैला बहुअरीबाट भैँसी नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छली चोरी पैठारी गरेर ल्याइएका थारो भैँसी ८ वटा र पाडा तथा पाडी २८ वटा गरी ४ लाख ३४ हजार बराबरको भैँसी तथा पाडापाडी नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
उनकाअनुसार नियन्त्रीत भैँसी र पाडापाडीलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।


