Categories समाचार स्वास्थ्य

अस्पतालमा उपचाररत बिरामी तथा कुरुवाहरूसँग मन्त्री यादवको छलफल

Advertisement

वीरगन्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आज काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन गर्नुभएको छ ।

आइतबार मन्त्रालयका सचिवसहितको टोलीले लिएर प्रसूति गृह पुग्नुभएका मन्त्री यादवले अस्पतालको अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी तथा कुरुवाहरूसँग समेत छलफल गर्नुभएको हो ।

Advertisement

अस्पतालबाट उपलब्ध सेवादेखि अन्य सुविधाको गुणस्तरको विषयमा प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यले अनुगमन गरिएको मन्त्री यादवले बताउनुभयो ।

Advertisement

‘देशभरबाट उपचारको आसमा आउनुहुने बिरामीहरूले कस्तो सेवा पाउनुहुँदै छ, उपलब्ध सेवा र सुविधाहरूको गुणस्तर कस्तो छ, चिकित्सकलगायतका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूले बिरामीसँग गर्ने व्यवहार कस्तो छ, फार्मेसीमा सबै प्रकारका औषधीहरू उपलब्ध छन् की छैनन्, ल्याब, आइसियु, एनआइसीयुलगायतको अवस्थाको बारेमा जानकारी लिन अनुगमन गरेको हुँ,’मन्त्री यादवले भन्नुभयो, ‘अनुगमन उपलब्धिमूलक नै रह्यो ।’

अनुगमनका दौरान मन्त्री यादवले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूसँग पनि कुराकानी गर्दै उहाँहरूले भोग्नु भइरहेको चुनौतीका बारेमा बुझ्नुभएको थियो । सो क्रममा कर्मचारीहरूले जनशक्ति, पूर्वाधार र समन्वयको अभावका कारण अपेक्षित ढङ्गबाट सेवा उपलब्ध गराउन नसकिएको बताउनुभयो ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले नयाँ भवन निर्माण भए पनि भुक्तानी बाँकी रहेकोले सञ्चालनमा ल्याउन नसक्दा पुरानो भवनबाट उपचार गर्न अप्ठ्यारो भइहरेको बताउनुभयो ।

त्यस्तै नर्स इन्दिरा ढुङ्गेलले ५२ जना बिरामीलाई २ जना नर्सले सेवा दिनु परिरहेको दुखेसो पोख्नुभयो । ‘जटिल किसिमका बिरामीहरूको उपचार गर्नका लागि हामीसँग पर्याप्त उपकरण पनि छैन । अन्य अस्पतालमा पठाउँदा पनि उहाँहरूले उपचार गरिदिनु हुँदैन,’ उहाँले भन्नुभयो ।

मन्त्री यादवले अस्पतालले भोगिरहेको जनशक्ति, उपकरण र पूर्वाधार अभावलाई तत्कालै समाधान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवलगायतका कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

त्यस्तै नवनिर्मित भवनबाट छिटोभन्दा छिटो सेवा सुचारु गराउन र प्रसूति अस्पतालमा उपचार सम्भव नभएका बिरामीहरूको उपचारका लागि अन्य अस्पतालहरूसँग गर्न सकिने समन्वयको विषयमा पनि अध्ययन गर्न पनि मन्त्री यादवले कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

अनुगमनमा सचिव डा. रोशन पोखरेललगायतका कर्मचारी र सचिवालयका सदस्यहरूको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *