दाङ । दाङमा आज (शुक्रबार) विहानै श्रीमतीको हत्या गरी फरार नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् । शुक्रबार बिहान ८ बजे दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमतीको हत्या गरी सेनाका अमल्दार ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएका थिए ।
फरार बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । कपुरकोट–६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार बुढाथोकीले श्रीमती टीका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।
शान्ति सेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते टीकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
शालिकरामले श्रीमतीका साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका थिए । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने शालिकराम इप्रका तुलसीपुरको नियन्त्रणमा छन् । पक्राउ परेका बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






