Categories समाचार

अदालतबाट फैसला भएको २४ घण्टाभित्र उपेन्द्र यादवको पत्ता साफ हुन्छ : मन्त्री यादव

Advertisement

बिर्तामोड । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले अदालतबाट फैसला भएको २४ घण्टाभित्र उपेन्द्र यादवको दम्भको पत्ता साफ हुने बताउनु भएको छ ।

बुधवार झापामा जनता समाजवादी पार्टीले (जसपा) जिल्ला कार्यसमिति झापाद्वारा आयोजित झापा जिल्ला भेला तथा रूपान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले सङ्घीयताका विषयमा उपेन्द्र यादवले खुलेर बोल्न नसकेको र कार्यकर्ताहरूसँग योजना माग्दा कमिसन बिना काम नगरेको हुँदा उहाँलाई आफूहरू छोड्न बाध्य भएको बताउनुभयो ।

Advertisement

उपेन्द्र यादवले कार्यकर्तामाथि गरेको पीडा आफूले बुझेको बताउनुहुँदै जसपाका उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले भन्नुभयो, ‘यो दम्भ सधैँका लागि नासिएर जान्छ ।’ उहाँले थप्नुभयो, ‘उपेन्द्रजीले हामीलाई १७ वर्षसम्म झुक्क्याएर राख्नुभयो । प्रत्येक निर्णयहरू एकलौटी रूपमा लिँदै हाम्रो भवनमा ठेस पुर्‍याइरहनुभयो । असह्य भएपछि हामीले उहाँलाई छाडेका हौँ ।’

Advertisement

मन्त्री यादवका अनुसार उपेन्द्र यादवले देशभरमा निर्वाचित जनप्रतिनिधिहरूसँग कमिसन माग्ने, आफ्नो नियन्त्रणमा राखेर पुतली जस्तो नचाउँदै मानसिक रूपमा दुर्व्यवहार गर्नुहुन्थ्यो । ‘वीरगञ्जका वर्तमान मेयरदेखि पूर्व मुख्यमन्त्रीसम्मबाट उपेन्द्रजीले कमिसन लिएको मसँग प्रमाण छ । समय आए सार्वजनिक गर्छु,’ उहाँले थप्नुभयो ।

अशोक राईको शालीन व्यवहारप्रति आफूहरू आकर्षित भएर उहाँको नेतृत्वमा पार्टी गठन गरेको मन्त्री यादवले बताउँदै भन्नुभयो, ‘अशोक राईजीको शालीन व्यक्तित्व, सङ्घीयता स्थापनाका लागि उहाँको योगदान र विभेदमा परिएकाहरू अधिकार प्राप्तिका लागि उहाँ सङ्घर्षबाट हामीहरू आकर्षित भएर उहाँको नेतृत्वमा पार्टी गठन गरेका हौँ । म विश्वस्त छु उहाँले उपेन्द्रजी जस्तो पदको दुरुपयोग गरेर मुद्दासँग धोका गर्दै राष्ट्रलाई क्षति पुर्‍याउने काम गर्नु हुँदैन ।’

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जसपाका नेता रणधोज कन्दङवाले सङ्घीयता भित्रको पहिचान झुन्ड झुन्डबाट प्राप्त नहुने बताउनुहुँदै उपेन्द्र यादवको भरमा परेर पीडित नबन्न सबैलाई आह्वान गर्नुभयो । त्यसैगरी जसपा नेता आङ् काजी शेर्पाले जनजाती र मधेस मुद्दा एउटै भएको बताउनुभयो ।

रूपान्तरण अभियानका अध्यक्ष दिपेनवाला राईको सभापतित्वमा भएको कार्यक्रमलाई राजनीतिक समितिका सदस्य रमेश राई, आरसी तुम्सा, प्रदेश सभा सदस्य निर्मला तावालगायतले सम्बोधन गर्नुभयो ।

कार्यक्रमले रूपान्तरणअन्तर्गत झापा जिल्लाको नयाँ कार्यसमिति समेत चयन गरेको छ । जिल्ला कार्यसमितिको अध्यक्षमा समर राई, उपाध्यक्षमा सन्तोष गणेश, ज्ञानेन्द्र कुरुम्बाङ, सचिवमा रोम घिमिरे, उपसचिवमा लक्ष्मी सुब्बा, चिजा राई, कोषाध्यक्षमा गीता राई रहनुभएको छ भने सदस्यहरूमा हर्क खालिङ, उदय गुरुङ, रमन राजवंशी, बालकुमार भुजेल, वासुदेव राई, पल्टन ताजपुरीया, विष्णु महतो, सुदिप थुलुङ, प्रेम थुलुङ, चित्रबहादुर राई, राजेश देवान, साम मोहम्मद मियाँ, अमला राई, पूर्णकुमारी मगर राई लगायत रहनुभएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *