वीरगंज। जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । तर निर्वाचन समितिले आधिकारीक रुपमा घोषणा गरिसकेको छैन् । महाधिवेशनले २० जना पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय समिति गठन गर्नेछ । सबै पदमा निर्वाचन प्रकृयाबाट नै चयन हुनुपर्ने नयाँ विधानमा व्यवस्था गरिएपछि सबै पदमा उम्मेदवारी परेको छ ।
निर्वाचन कार्यतालिका अनुसार अपरान्ह ४ बजेदेखि मतदानको समय तोकिए पनि उम्मेदवारहरूको अन्तिम नामावली ८ घण्टापछि प्रकाशन गर्दा मतदान प्रक्रिया धकेलिएको छ । अन्य १ सय ८१ केन्द्रीय सदस्य पदका लागि विभिन्न क्लस्टरमा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । सातवटै प्रदेशबाट कलस्टर अनुसार खुल्ला तर्फ ७५ जनाले उम्मेदवारी दिएका छन् ।
राति ९ बजे सम्म उम्मेदवार हरुको नामावलीमाथि दावी बिरोध लगायतका प्रक्रिया सुरु भएको छैन् । अन्तिम नामावली समेत प्रकाशन हुन नसकेकाले मतदान प्रकृया बिहीबार बिहान सुरु हुने बताइएको छ ।
पाार्टीको विधान र निर्देशिकालाई राम्ररी अध्ययन गरी उम्मेदवारी नदिएकाले कलस्टरगत उम्मेदवारीमा केही रद्द पनि भएकाले केही निर्विरोध भएको बताइएको छ । निर्वाचन स्थल राति सुनसान भएको थियो । उम्मेदवार र प्रतिनिधि होटेलहरुमा छलफलमा लागेका छन् । तर धेरैले मतदान हुनेमा आशंका व्यक्त गरेका छन् ।






