वीरगन्ज । टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । जारी प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपाल २१ रनले पराजित भएको हो ।
१०७ रनको लक्ष्य पाएको नेपाल ८५ रनमा अलआउट भयो । नेपालका लागि कुुशल मल्लले २७, दीपेन्द्रसिंह एेरीले २५ र आसिफ शेखले १७ रन बनाउनुभयो ।
२६ रन जोड्दा पाँच विकेट गुमाएर दबाबमा आएको नेपालको छैटौ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले ५२ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए । कुशलले ४० बलमा २७ रन बनाउनुभयो । कुशल भुर्तेल ४ तथा कप्तान रोहितकुमार पौडेल र सन्दीप जोरा एक एक र अनिल साह शुन्य रनमा आउट हुनुभएको थियो ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेश १७ ओभर ३ मा १०६ रनमा अलआउट भएको थियो
नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानेले दुई दुई विकेट लिनुभयो ।
सोमपालले ३ ओभरमा १०, रोहितले ४ ओभरमा २०, सन्दीपले ४ ओभरमा १७ र दीपेन्द्रले ३ ओभर ३ बलमा २२ रन दिनुभयो ।
सोमपालले पहिलो बलमै तान्जिद हसनलाई आउट गर्दै नेपाललाई सुखद सुरूवात गराउनुभयो । दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले नजमुल हसनलाई ४ रनमा बोल्ड गरे पछि नेपालले सुरुबाटै दबाब बढाएको थियो । सोमपालले पाँचौँ ओभरमा लिट्टन दासलाई आउट गर्नुभयो ।
पावर प्लेको अन्तिम ओभरमा कप्तान रोहित पौडेलले तोवहिद हृदयको विकेट लिएसँगै बंगलादेश पावर प्लेमा ३१–४ को कमजोर अवस्थामा पुगेको थियो ।
रोहितले भेट्रान अलराउन्डर शकिब अल हसनलाई १७ रनमा एलबीडब्लु धरापमा पर्नु अघि मोहमदुल्लाह रन आउट भइसक्नुभएको थियो ।
सन्दीप लामिछानेले २ विकेट लिँदै बंगलादेशलाई लगातार दबाबमा मात्र राख्नुभएन ट्वान्टी(२० अन्तर्राष्ट्रियमा १ सय विकेट लिने पहिलो नेपाली खेलाडी पनि बन्नुभयो ।


