Categories समाचार समाज

कान्छी श्रीमतिसँग मिलेर जेठीको हत्या, खेतमा भेटियो शव

सर्लाही । सर्लाहीको बरहथवामा एक महिलाको हत्या भएको छ । बरहथवा नगरपालिका–१२, लौकाठ बस्ने ३५ वर्षीया लिलावती देवी महतोको हत्या भएको हो ।महतोको शव सोमबार बिहान घरदेखि करिब डेढ किलोमिटर टाढा कमल रायको खेतमा फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ ।

मृतक महिलाको अनुहार र घाँटीमा चोट देखिएको छ । प्रहरीले घटना लगत्तै मृतक महिलाका श्रीमान् ३८ वर्षीय शङ्कर महतो र सौता (श्रीमानको कान्छी श्रीमती) २१ वर्षीया सजन देवी महतोलाई पक्राउ गरिएको छ ।

Advertisement

उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोस्टमार्टमका लागि सोमबार दिउँसो प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।

Advertisement

प्रहरीका अनुसार घटना भएको परिवारमा बारम्बार झगडा परेर पञ्चायती बसेको थियो । सर्लाही प्रहरीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले उक्त परिवारमा आइतबार बेलुका पनि झगडा भएको पाइएको बताए ।

‘घटना भएको परिवारमा बारम्बार झैँ–झगडा भएको देखिन्छ, आइतबार बेलुका मात्रै पनि झगडा भएर मृतक महिलाले खाना नखाएको पाइयो’, एसपी सिंहले भने, ‘घटनाबारे हामी अनुसन्धानमै छौँ, हाम्रो नियन्त्रणमा रहेका मृतकको श्रीमान् र सौतासँग सोधपुछ हुँदैछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *