काठमाण्डाै । सरकारले अब रासायनिक मलको अभाव नहुने दाबी गरेको छ । प्रतिनिधि सभामा आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नकाे जवाफ दिँदै कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चालू आर्थिक वर्ष र आउँदो आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने दाबी गर्नुभएको हो ।
मन्त्री साहले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभयो । उहाँले थप एक लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै मलको आवश्यकता पूरा हुने बताउनु भयो ।
मन्त्री शाहले आउँदो आर्थिक वर्षमा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले विनियोजित बजेटबाट नै छ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने स्पष्ट पार्नुभयो ।
मन्त्री साहले आउँदो आर्थिक वर्षमा मलको सहज उपलब्धताका लागि दुई लाख ५० हजार मेट्रिक टनको टेन्डर आह्वान भइसकेको र ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको भन्दै मलको अभाव नहुने बताउनुभयो ।






