वीरगञ्ज । १० लाख बराबरको तस्करीको भारतीय मल भण्डारण गरि राखिएको अवस्थामा पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
तस्करहरुले भारतीय मल भन्सार छली चोरी पैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको भन्ने सूचना प्रहरीले पाएको थियो ।
सोही सूचनाको आधारमा प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा बिहीबार अन्दाजी ५ बजे वीरगञ्ज -१६ बैष्णोदेवी मन्दिर अगाडी सोही ठाउँ बस्ने बृज किशोर महतोको घरमा घरकोठा भाडामा लिइ नवलपरासीको कावासोती नगरपालिका वडा नं.९ बस्ने ६२ वर्षका ज्ञान बहादुर महतोले भारतबाट भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भण्डारण गरी राखेको पाइएको थियो ।
टोलीले उक्त कोठाको खानतलासी गर्दा सो गोदामबाट ७ सय १२ बोरा ( प्रति बोरा ५० के.जी.का दरले ) भारतीय मल र महतोलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।






