Categories कृषि

आज असार १५ राष्ट्रिय धान दिवस मनाइँदै

वीरगन्ज । आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व मनाइँदै छ। असार १५ दही चिउरा खने दिनको रुपमा किसानमाझमा लोकप्रिय छ। वि.सं.२०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको मुख्य पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गर्दै दही चिउरा खाएर मनाइँदै छ। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्।

Advertisement

दही चिउराको महत्त्व

Advertisement

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन्। पछिल्लो समय दही, चिउरासँगै आँपको सिजन भएकाले आँपका साथमा मासुसमेत खाने प्रचलन बढ्दै गएको छ।

नेपाली संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकामना निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ। भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ। पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ। यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *