बिरगंज। मुख्यमन्त्री सतीशकुमार सिंहले शनिबार विश्वासको मत लिने भएका छन् । उनको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, संघीय समाजवादी फोरमलगायतका साना दलले विश्वासको पक्षमा मतदान गर्ने भएका छन् ।
भने सोको विपक्षमा नेपाली कांग्रेस, जसपा नेपाललगायतका दलले मतदान गर्ने जनाएको छ । केन्द्रमा सत्ता समीकरण फेरबदल भएसंगै मधेश प्रदेशमा समेत सोको असर पर्ने देखिए पनि अहिलेसम्म कांग्रेस– एमाले बीचको समीकरण सन्दर्भमा मधेश प्रदेशमा अन्योलता देखिएको छ । एमाले र माओवादी केन्द्रसहितको गठबन्धनको समर्थनमा जनमत पार्टी नेतृत्वको सरकारले पहिलो पटक विश्वासको मत लिन लागेको छ ।
एमाले र माओवादीसहित ६ दलको समर्थनमा २०८१ जेठ २५ गते मुख्यमन्त्रीमा सतीशकुमार सिंहलाई नियुक्त गरेको थियो । मुख्यमन्त्री सिंहले विश्वासको मत लिने क्रमसंगै केन्द्रीय राजनीतिमा सत्ता समीरणसंगै कांग्रेस–एमालेको नयाँ गठबन्धन भएपछि पनि माओवादी र एमालेले उनलाई विश्वासको मत दिने निर्णय सार्वजनिक भएसंगै कांग्रेस, लोसपालगायतका दलहरुमा अन्योलता उत्पन्न भएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेशले प्रदेशमा कांग्रेस ठूलो दल रहेकाले प्रदेश सरकारको नेतृत्व आफूहरुले पाउनुपर्ने दाबी समेत गर्न थालेका छन् । यसका लागि केन्द्रमा पहल गर्ने जनाउँदै अहिलेको प्रदेश सरकारलाई समर्थन गर्न नसकिने कांग्रेस मधेश प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झाले बताए । कांग्रेसका प्रदेश सभापति समेत रहेका संसदीय दलका नेता कृष्णकुमार यादवलाई नै प्रदेश सरकारबारे निर्णय गर्न सम्पूर्ण अधिकार बैठकबाट दिइएको उनले बताए ।






