वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भारतको धार्मिक पर्यटकिय शहर वाराणसीको नगर निगमका मेयर अशोक कुमार तिवारीसित भेटवार्ता गर्नुभएको छ। शनिबार वीरगञ्ज महानगरपालिकाका मेयर सिंहसहितको प्रतिनिधिमण्डललाई वाराणसी नगर निगमको कार्यकक्षमा मेयर तिवारीले स्वागत र सम्मान गर्नुभएको थियो।
मेयर सिंहले वाराणसीका मेयर तिवारीलाई रुद्राक्षको माला, खादा र टोपी लगाएर सम्मान गर्नुभयो। भेटघाटमा वीरगञ्जलाई धार्मिक पर्यटकिय शहर बनाउने सम्बन्धमा छलफल भएको थियो।
यस अवसरमा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, सदभावना दूत अशोक बैध, वडा अध्यक्षहरु बैजुलाल स्वर्णकार, रमेश यादव, प्रदिप चौरसिया, जगत साह कानु, र प्रमुखका सल्लाहकार प्रकाश अमात्य लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, मेयर सिंहले वाराणसीस्थित नेपाली संस्कृत महाविद्यालयमा वेद, व्याकरण, शास्त्र, र संस्कृत अध्ययनरत नेपाली विद्यार्थीहरूसित पनि भेटवार्ता गर्नुभएको छ। सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा आयोजित उक्त भेटको क्रममा विद्यार्थीहरुले वैदिक मन्त्र उच्चारण गरी स्वागत गरेका थिए।
यस भ्रमणले वीरगञ्ज र वाराणसीबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।








