Categories समाचार

प्रधानमन्त्री ओली आज विश्वासको मत लिँदै

Advertisement

बिरगंज। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । विश्वासको मत प्राप्त गर्न दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा एक सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।

Advertisement

प्रधानमन्त्री ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । उहाँलाई प्रमुख दल नेपाली कांग्रेसको ८८, नेकपा (एमाले) को ७८, अशोक राई नेतृत्वको जसपा सात, जनमत पार्टी छ, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पाँच, लोसपा चार, नागरिक उन्मुक्ति पार्टी चार, स्वतन्त्र दुई गरी एक सय ९४ मत पक्षमा आउने देखिन्छ ।

Advertisement

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा एक, राष्ट्रिय जनमोर्चा एक, प्रभु साह (स्वतन्त्र) एकले मत कता दिने भन्ने विषयमा निर्णय गर्न बाँकी छ ।

नेकपा (एमाले) ले आफ्नो दलका सांसदलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ । प्रमुख सचेतक महेशकुमार बर्तौलाले आफ्ना सांसदहरुलाई ह्विप जारी गर्नुभएको हो । असार १७ गते राति कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सात बुँदे सहमति भएको थियो । प्रमुख दुई दलबीच संविधान संशोधनलगायतको विषयमा सहमति भएको भनिए पनि सहमतिपत्र अहिलेसम्म सार्वजनिक भएको छैन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *