वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जको शितलपुर खोला क्षेत्रमा दुई जनाको शब फेला परेको छ । पर्साको प्रसिद्ध धार्मिक स्थल दुधेश्वरनाथ महादेव मन्दिर (भाठा धाम) दर्शन गर्न मकवानपुरबाट आउँदै गर्दा दुई जनाको मङ्गलवार बेलुका सवा पाँच बजेट शब फेला परेको हो ।
मकवानपुरको राक्सीराङ्ग गाउँपालिका वडा नम्बर २ टुमकीका ३२ वर्षीय राजकुमार मेगी र मकवानपुरकै मनहरी गाउँपालिका वडा नम्बर ५ दिलिपुरका रामबहादुर मुक्तानको शब फेला परेको पर्सा राष्ट्रिय निकुञ्ज रामभौडी भाठा पोष्टका रेन्जर चुमन ठाकुरले जानकारी दिए ।
उनकाअनुसार ईलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक रन्जित लामाको नेतृत्वमा रामभौरी भाठा क्षेत्र पोस्टसँगै निकुञ्ज सुरक्षा तैनाथ सबुत गणका क्याप्टेन, सुवर्णपुर बेसक्याम्पसबाट सशस्त्र प्रहरीसहितको टोली बेपत्ता भएका दुईजनाको खोजीमा परिचालित थियो । रेन्जर ठाकुरकाअनुसार शब भेटिएको शितलपुर खोलालाई रामभौरी भाठाको निषेधित क्षेत्र (कोर एरिया) मानिन्छ ।
यसअघि साउन १५ गते चार जना गाडीमा भाठा धाम दर्शन गरेर फर्किएका थिए । पुनः १९ गते छोटो दुरीको पर्सा राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रको बाटो हुँदै लुकिछिपी आउने क्रममा मृतक दुई जनालाई हात्तीले आक्रमण गरेको थियो । उनीहरुको पछि रहेका दुई जना भने हात्तीले आक्रमण गरेको देख्ने बित्तिकै भाग्न सफल भएका थिए । उनीहरु भागेर घर पुगेपछि दुई जना बेपत्ता भएको खबर पाएर खोजी थालिएको रेन्जर ठाकुरले बताए ।
सोमवारदेखि खोजी गर्दा मंगलवार बेलुका सवा पाँच बजे रामभौरी भाठा क्षेत्रबाट १२ किलोमिटर उत्तरतर्फ को शितलपुर खोला नजिक शब फेला परेको ठाकुरको भनाई छ । उनकाअनुसार सो क्षेत्रमा जंगली हात्तीको पाइलाहरु पनि देखिएको छ । जसले गर्दा जंगली हातीकै आक्रमण बाट ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले मुचुल्का उठाएर शबलाई सनाखतका लागि नारायणी अस्पतालमा पठाएको छ । यात्रा डेली






