रौतहट । सादा पोसाकको प्रहरी हुँ भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका युवक रौतहट माधवनारायण नगरपालिका १ का २४ वर्षीय रमेश साह रहेका छन्।
प्रहरीले जानकारी दिएअनुसार, साहले सर्वसाधारणसँग रकम असुल गर्न खोज्नुका साथै विभिन्न व्यक्तिहरूको जिउ खानतलासी समेत गर्दै थिए। यस सम्बन्धी सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका साहको झोलाबाट सशस्त्र प्रहरी बलको तयारी हालतमा रहेको पोसाक समेत बरामद भएको छ। प्रहरी स्रोतका अनुसार, साहमाथि अभद्र व्यवहार मुद्दा शिर्षकमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले सर्वसाधारणलाई सचेत रहन र यस प्रकारका व्यक्तिहरूको गतिविधि देखेमा तुरुन्तै प्रहरीलाई जानकारी दिन अनुरोध गरेको छ।







