काठमाडौं । ‘पार्टीभित्र र बाहिर अप्ठ्यारो’ मा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग सोमबार ‘गोप्य’ भेटवार्ता गरे। ‘पार्टी एकता गरौं, तपाईं (माधव नेपाललाई) प्रधानमन्त्री बनाउन म पहल गर्छु,’ प्रचण्डको प्रस्ताव थियो। पार्टी एकताप्रति नेपाल सकारात्मक देखिए। तर, प्रधानमन्त्री बनाउने प्रचण्डको प्रस्तावप्रति विश्वस्त बनेनन्।
प्रचण्डको चलखेलकै कारण ‘मुखको प्रधानमन्त्री’ पद गुमेको र पटक–पटक ‘धोखा’ खाएको नेपालको बुझाइ छ। ‘पार्टी एकताका विषयमा त हामी सकारात्मक नै छौं। तर, प्रधानमन्त्रीका लागि प्रचण्डले राख्नुभएको ‘ललिपप’ मा विश्वस्त हुने आधार छैन,’ नेपाल निकट स्रोतले भन्यो।
तत्कालीन नेकपा विवाददेखि माओवादी प्रतिपक्षमा पुग्दासम्म प्रचण्डकै साथमा उभिएका पूर्वप्रधानमन्त्री नेपाल ‘प्रचण्डलाई सहजै विश्वास गर्ने’ अवस्थामा भने नरहेको उनी निकट नेताहरू बताउँछन्। कांग्रेससहितको गठबन्धन तोडेर एमालेसँग सत्ता समीकरण गर्दा प्रचण्डले ‘धोखा’ दिएको नेपालको बुझाइ छ। कांग्रेससहितको गठबन्धनमा ‘एक वर्ष नेपाललाई प्रधानमन्त्री’ बनाउने सहमति थियो। तर, प्रचण्डले रातारात कांग्रेससँगको सहकार्य तोड्दा उक्त अवसर गुमेको नेपाल पक्षधर नेताहरूको बुझाइ छ।
पार्टीभित्र नेतृत्व हस्तान्तरणको दबाब र प्रतिपक्षमा पुगेपछि शक्ति प्राप्तिका लागि प्रचण्डले नेपालको साथ खोजेको उनी निकट नेताहरू बताउँछन्। ‘भित्र बाहिर अप्ठ्यारोमा परेपछि शक्ति आर्जनका लागि गरिएको अर्को मञ्चन मात्रै हो,’ नेपाल निकट स्रोतले भन्यो, ‘आफू अप्ठ्यारोमा पर्दा साथ खोज्ने, तर आफूलाई फाइदा हुँदा जति बेला जोसुकैलाई पनि लात हान्ने प्रचण्डको बानी हामीले पनि नचिनेको होइन।’
प्रचण्डको चलखेलकै कारण ‘मुखको प्रधानमन्त्री’ पद गुमेको र पटक–पटक ‘धोखा’ खाएको नेपालको बुझाइ छ। विगतमा आफूसँग ३२ सिटको म्याजिक नम्बर रहेको भन्दै पाँचै वर्ष सत्ताको नेतृत्व लिइरहने दाबी गरेका प्रचण्डको सपना कांग्रेस र एमाले मिलेर तुहाइदिएका थिए। पहिलो ठूलो दल कांग्रेस र एमाले मिलेर सत्ता सञ्चालन गरेपछि प्रचण्ड एकाएक विपक्षमा पुगेका थिए। त्यसयता प्रचण्डले आफू अब प्रधानमन्त्री नबन्नेदेखि नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरिसकेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।