वीरगन्ज । वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखाका निमित्त प्रमुख अनिश कान्त कुशवाहाको संयोजकत्वमा वीरगन्ज महानगरपालिका स्तरीय “आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन” कार्यदल गठन भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको पत्र अनुसार वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीले बोलाउनु भएको बैठकबाट कार्यदल गठन भएको हो ।
वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बोगटीको कार्यकक्षमा बसेको बैठकले कार्यदल गठन गर्नुका साथै विभिन्न निर्णय गरेको संयोजक कुशवाहाले जानकारी गराउनु भयो ।
संयोजक कुशवाहा संगै सह संयोजकमा डाक्टर दिग बिजय कुँवर, सदस्यमा श्रीजना उपाध्याय, संगीता जोशी, अरबिन्द लाल कर्ण, रमिता श्रेष्ठ, प्रकाश थारु, हरि पन्त, श्याम कुमार सर्राफ, राज कुमार तामाङ, विजय चौहान, राजन वर्णवाल र सदस्य सचिवमा कार्यालय प्रमुख बोगटी रहनुभएको छ ।
नवनियुक्त कार्यदलले पहिलो बैठकबाट जोखिममा रहेका वर्गहरुको पहिचान गरि अभिलेख तयार गर्ने, वार्षिक कार्ययोजना बनाई वीरगन्ज महानगरपालिकासँग बजेट माग गर्ने, मासिकरुपमा “आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन २०८१”को वीरगन्ज महानगरपालिका स्तरको बैठक बस्ने र यही महिनाको २५ गते “विश्व आत्महत्या रोकथाम दिवस भव्यताका साथ मनाउने लगायतको निर्णय भएको प्रहरी निरीक्षक बोगटीले बताए ।







