बिरगंज । कारागार व्यवस्थापन विभागले संविधान दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरेका कैदीहरूको कैद कट्टा गर्ने निर्णय गरेको छ।
यस अन्तर्गत, विभागले ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, दुई जना जेष्ठ नागरिक, र ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना गरी कूल ४९२ जनाको कैद कट्टा सिफारिस गरेको छ।
विभागले सिफारिस भएका कैदीहरू विरुद्ध कुनै उजुरी वा गुनासो भएमा सात दिनभित्र प्रमाणसहित विभागमा उपस्थित हुन सूचना जारी गरेको छ।
यसअघि, असार ९ गते पुष्पकमल दाहाल नेतृत्वको सरकारले ५० प्रतिशत कैद भुक्तान गरेका ५८६ जना, ३ जना जेष्ठ नागरिक र ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना गरी ६२० जनालाई छुट दिने घोषणा गरेको थियो।
विभागले गणतन्त्र दिवसको अवसरमा छुट्न सिफारिस भएका ६२० जना र संविधान दिवसका लागि ४९२ जना गरी कूल १,११२ जना कैदीहरूलाई रिहा गर्ने तयारी गरिरहेको छ।






