वीरगन्ज । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले लेख्नुभएको आफ्नो आत्मकथाको किताब देशको विभिन्न स्थानमा बेच्दै वीरगन्ज आइपुगेका छन् ।
दुई दशकदेखि बन्द वीरगन्ज कृषि ओैजार कारखाना पुन सञ्चालनका लागि आवश्यक रकम सरकारले सम्झाैता गरेरपनि नदिएपछि आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आफैंले लेखेकाे किताब बिक्री गरेर उक्त रकम जुटाइ रहेका छन् ।

किताब बेच्न देश दाैडाहामा रहेका पुन बिहीबार बिहान वीरगन्जमा आएका हुन्। वीरगन्जमा पहिलाे दिन बिहीबार २३५ थान किताब बिक्री भएकाे अध्यक्ष पुनले जानकारी दिए।त्यसबापत १ लाख ७६ हजार २५० रुपैयाँ जम्मा भएको उनले बताए ।
पुनको यस प्रयासमा हातेमालो गर्दै वीरगन्जका सचेत युवाहरुकाे समुह पुनकाे किताब वीरगन्जमा धेरैभन्दा धेरै बिक्री गराउनका लागि अध्यक्ष पुनसँगै शहरको विभिन्न स्थान, बैंक, इन्स्योरेन्स कम्पनी र वीरगन्ज महानगरपालिकासँग छलफल गरेको छ । रंजित यादव, राजन श्रीवास्तव, श्याम सर्राफ र चन्दन प्रजापति लगायतका युवाहरूको समूहले वीरगन्जमा रहेका विभिन्न पेशा सम्बद्ध संघसंस्था र कार्यालयमै अध्यक्ष पुनसँग पुगेर किताब बिक्री गराउनुका साथै कसरी सबैसम्म किताब पुर्याउन सकिने बारे छलफल गरेको थियो ।

आज दोस्रो दिन वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, वीरगन्ज बैंकर संघका अध्यक्ष रोहिनी आचार्य, नेपाल बीमा व्यवसायी संघ पर्साका उपाध्यक्ष निशान्त लामिछानेसँग वहाँहरुकै कार्यकक्षमा छलफल गर्नुका साथै केही थान किताब पनि बिक्री गरिएको समूहका रंजित यादवले जानकारी गराए ।
वीरगन्ज र आसपासका क्षेत्रमा किताबकाे माग भएसम्म आफू रहने बताउँदै अध्यक्ष पुनले भने,`किताब बेच्न म जहाँपनि जान तयार छु। स्थानीयले जहाँ जहाँ बाेलाउछन् म त्यहाँ त्यहाँ पुग्छु। आवश्यक पर्याे भने वीरगन्जमा म १ महिनासम्म बस्न तयार छु।´

महावीर पुनकाे किताब अहिलेसम्म रुपन्देही जिल्लामा सबै भन्दा बढी १७ हजार थान बिक्री भएकाे छ । वीरगन्जमा त्याे भन्दा बढी थान किताब बिक्री हाेस् भन्ने आँफुहरुकाे चाहना रहेकाे र त्यसका लागि आँफुहरु अहाेरात्र लाग्ने उनले बताए ।






