वीरगन्ज । आज सेप्टेम्बर २५ अर्थात् विश्व फर्मासिष्ट दिवस’, फर्मासिष्टहरूका लागि विशेष दिन । फर्मासिष्टहरु विश्वव्यापी स्वास्थ्य आवश्यकताहरु पूरा गर्दै भन्ने नाराका साथ यस वर्ष नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
विश्वमै स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवम् संवेदनशील क्षेत्र हो फार्मेसी । औषधी विनाको स्वास्थ्य क्षेत्र वा उपचार सम्भव पनि छैन र कल्पना गर्न पनि सकिदैन त्यो तपाई -हामी सबैले बुझेको कुरा हो । खोपलाई समेत जाेडेर हेर्दा औषधी नचाहिने मानिस कोहि छैनन् । बच्चा गर्भमा रहे देखि लिएर जन्मिएर पूरा जीवन कटाई मृत्युवरण गर्दा सम्म हामी औषधीको सहयोग लिइरहेका हुन्छौं । अनि त्यहीँ औषधीसँग प्रत्यक्ष सरोकार राख्ने व्यत्ती हुन फर्मासिष्ट अर्थात औषधी बिज्ञ ।
औषधी सम्बन्धी अनुसन्धान र विकास देखि त्यसको उत्पादन , गुणस्तर परीक्षण , सञ्चय , बिक्री वितरण , परामर्श एवम् फर्माकोभिजिलेन्स र एडभर्स ड्रग रियाक्सन रिपोर्टिङ गर्ने ज्ञान भएको दक्ष जनशक्ति हुन फर्मासिष्ट ।
विभिन्न अध्यनहरु लाई हेर्दा औषधी खाना नपाएर भन्दा औषधी खाएर मर्ने तथा शरीरमा नकारात्मक असर पर्नेहरुको सङ्ख्या बढी देखिन्छ । ऎन्टिबायोटिक्स जस्तो जीवन रक्षक औषधीले बिस्तारै काम गर्न छाडेको विश्वको प्रमुख समस्याको रूपमा देखिन्छ । कारण हो औषधी को विवेक पुर्ण प्रयोग नहुनु , आफू खुशी औषधीको प्रयोग गर्नु , चिकित्सक र फर्मासिष्टले दिएको सल्लाह नमान्नु , औषधी प्रयोग गर्दा अपनाउन पर्ने सावधानी नअपनाउनु र औषधीको बिक्री वितरण गैरफर्मासिष्टले गर्नु ।
औषधी को विवेक पुर्ण प्रयोगलाई ख्याल नगरी अन्धा -धुन्ध प्रयोग गर्दै जाने हो भने औषधीले बिस्तारै काम गर्न छाडदै जाने र नयाँ प्रभाकारी औषधी बन्न नसक्ने हो भने स्वास्थ्य क्षेत्रमा एक समय संङ्कटकाल नआउला भन्न सकिदैन । त्यसकारण औषधीको सहि र विवेक पूर्ण प्रयोग तर्फ सम्बन्धीत सम्पूर्ण निकायले समयमा नै ध्यान पुर्याउनु जरुरी छ ।
विश्वभरी विकसित देशहरूको उदाहरण हेर्ने हो भने औषधी सम्बन्धी उत्पादन , खरिद , वितरण नियमन आदि कार्यमा सम्बन्धीत दक्ष जनशक्ति फर्मासिष्टलाई सदुपयोग गरि स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाएको देख्न सकिन्छ ।
हाम्रो देशमा औषधी सम्बन्धी ऐन , कानुन , नीति , नियमहरु त छन् तर विडम्बना त्यो लागू हुन सकेको छैन । केबल कागजमा मात्रै सिमित छ । स्वास्थ्य ऐन २०७१ मा पनि औषधीको अनुगमन, खरिद र वितरण व्यवस्थालाई प्रभाकारी बनाउन खरिद एवम् आपूर्ति व्यवस्थालाई सुदृढ तुल्याउने दक्ष फर्मासिष्ट जनशक्ति को संलग्नता गराइन्छ भने स्पष्ट उल्लेख गरिएको छ ।
औषधी ऐन २०३५ ले त औषधी बिक्री वितरणमा फर्मासिष्ट र सहायक फर्मासिष्टको अनिवार्य उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । तर त्याे ऐन पुर्णरूपमा लागू भएको छैनन् । अझै पनि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुमा फर्मासिष्ट ले गर्नुपर्ने काम गैर फर्मासिष्टहरु बाट गरिएको अवस्था छ । फार्मेसी बारे सचेतनाको कमीले होस् वा अन्य कारणले, हाम्रो समाजसँगै स्वास्थ्य मन्त्रालयले पनि फार्मेसी पेशालाई अभिन्न स्वास्थ्य जनशक्तिको रुपमा नहेरेको जस्ताे देखिन्छ ।
राज्यले फार्मेसी पेशाको महत्त्व नबुझ्दा र दक्ष फार्मेसी जनशक्तिलाई उनीहरूकाे कामबाट वञ्चित गराउँदा कतै औषधी नपाएर बिरामीको मृत्युभएको, कतै भण्डारण मै औषधीकाे म्याद नाघेको, खरिद गरिएको औषधी गुणस्तरहिन भएको, औषधी र औषधी सामग्री खरिदमा करोडौं रूपैयाँ बेरुजु भई सरकारलाई वार्षिक अर्बौं रूपैयाँको नोक्सान भएको समाचार विभिन्न सञ्चार माध्यमबाट सुनिरहेको हुन्छौं ।
मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने औषधि जस्तो संबेदनसिल क्षेत्रको विकासको लागी , औषधीको उत्पादन बढाई देशलाई औषधीमा आत्मनिर्भर बनाउन र संविधानले माैलिक हकको रुपमा व्यवस्था गरेको गुणस्तरिय स्वास्थ्य सेवा जनताको माझमा पुर्याउनको लागि फार्मेसी जनशक्तिलाई सम्बन्धित कार्यमा व्यवस्थित गर्नु जरुरी छ ।
त्यसकाे लागि फार्मेसी पेशाप्रती रहेकाे राज्यको भ्रमलाई चिरी औषधि सम्बन्धित बनेको ऐन,नीति, नियम ,निर्देशिका कार्यनयन गराउन जरुरी छ। त्यसको लागि फार्मेसी पेशामा आबद्ध सम्पुर्ण जनशक्तिहरु र फार्मेसी पेशासँग सम्बन्धित संघ संस्थाहरु एक जुट भइ विश्वव्यापी नारा जहाँ औषधी त्यहाँ फर्मासिष्ट राइट म्यान राइट प्लेस लाई कार्यान्यन गराउनु जरुरी देखिन्छ ।
फा.धर्मनाथ कुमार यादब
प्रादेशिक अस्पताल कलैया



