Categories समाचार

खानेपानीमन्त्री यादव र भुटानी ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री छिरिङबीच भेटवार्ता

Advertisement

काठमाडौँ । नेपालका खानेपानीमन्त्री प्रदीप यादवसँग भुटानका ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री ल्योन्पो जेम छिरिङले आज शिष्टाचार भेट गर्नुभएको छ । 

‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’ द्वारा आयोजित दोस्रो हिन्दूकुश हिमालय मन्त्री स्तरीय शिखर सम्मेलनमा सहभागी हुन् नेपाल आइपुग्नु भएका मन्त्री छिरिङले खानेपानी मन्त्री यादवसँग आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्दै विभिन्न विषयमा विचार विमर्श गर्नुभएको हो ।

Advertisement

भेटका क्रममा मन्त्री यादवले नेपाल र भुटानबिच प्राचीन सामाजिक-सांस्कृतिक सम्बन्ध रहेको बताउँदै भूपरिवेष्टित हिमाली भूगोल, विकास चुनौती, र जलवायु परिवर्तनका साझा मुद्दाहरूमा सहकार्यको सम्भावना औँल्याउनुभयो । उहाँले भन्नुभयो, “दुवै देशले पानी प्रशोधन र ढल व्यवस्थापनको क्षेत्रमा प्रभावकारी अनुभव र प्रविधिहरू आदानप्रदान गर्न सक्छन् ।“ उहाँले दुवै देशले पानीको नोक्सानी घटाउने, पानी प्रशोधन प्लान्ट र ढल प्रणाली सञ्चालनमा प्राविधिक सीप आदानप्रदान गर्ने संयुक्त कार्यक्रमको महत्वमा जोड दिनुभयो ।

Advertisement

यसै सन्दर्भमा मन्त्री यादवले पानीको गुणस्तर अनुगमन र नदी तथा खोलामा प्रदूषकहरूको मूल्याङ्कन गर्ने संयुक्त कार्यक्रमहरू सञ्चालन गर्न नेपाल र भुटानबिच सहकार्य हुनुपर्ने बताउनुभयो । उहाँले विशेष गरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जाबाट चल्ने पानी प्रशोधन प्रणाली र गुरुत्वआधारित प्रविधिहरू जस्ता कम लागतका समाधानहरू प्रवर्द्धन गर्न सहकार्यको प्रस्ताव राख्नुभयो ।

भुटानले वातावरणमैत्री ढल व्यवस्थापनमा गरेको प्रगति प्रशंसा गर्नुहुँदै मन्त्री यादवले यस क्षेत्रका दिगो प्रविधिहरू नेपालमा पनि भित्र्याउन सकिने जिकिर गर्नुभयो । उहाँले ढलबाट बायोग्यास उत्पादनजस्ता विधिहरूबाट दुवै देशले नवीकरणीय ऊर्जामा योगदान गर्न सक्ने सम्भावना औँल्याउनुभयो ।

भुटानी मन्त्री छिरिङले नेपाल र भुटानबिचको व्यापार सिधा हुनुपर्नेमा जोड दिँदै भारतको बाटो हुँदै व्यापार गर्दा भुटानी उत्पादन महँगो हुने गरेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा भुटानको चामल र आलु लोकप्रिय भएको तर महँगो पर्ने समस्या समाधानका लागि सिधा व्यापारको आवश्यकता औँल्याउनुभयो । साथै, उहाँले धार्मिक पर्यटनमा भुटानी नागरिकलाई नेपाल भ्रमणका लागि सहजता प्रदान गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपालको जलविद्युत् विकास, पर्यापर्यटन, र स्वच्छ पानी व्यवस्थापनको क्षेत्रमा भुटानसँग सहकार्य गर्ने प्रस्ताव राख्दै मन्त्री यादवले भुटानी अनुभवबाट नेपालले महत्त्वपूर्ण पाठ सिक्न सक्ने बताउनुभयो । भेटका क्रममा भुटानी मन्त्री छिरिङले नेपाल र भुटानको पर्यटन र जलस्रोत क्षेत्रको प्रवर्द्धनका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो र भ्रमणको निम्तो पनि दिनुभयो । 

भुटानको अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिको सफल यात्राका लागि मन्त्री यादवले भुटानी समकक्षीलाई बधाई ज्ञापन गर्दै, भुटानको अनुभवले नेपाललाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *