वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिष्वाका संजय सर्राफकी २३ वर्षीया श्रीमती गिताञ्जली कुमारीको शंकास्पद मृत्यु भएको छ। गिताञ्जलीको माइती पक्षले उनलाई श्रीमान् लगायत परिवारजनले कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन्।
मंगलबार बिहान ६ः५७ मा भारत बिहार राज्यको रामनगरस्थित माइती भएकी गिताञ्जलीले आफ्नो मामाकी छोरीसँग भिडियो कल गर्दै गर्दा श्रीमान् संजय सर्राफले कुटपिट गरेको दृश्य देखिएको माइती पक्षको दाबी छ। यता, संजय सर्राफले भने सोमबार राति नै गिताञ्जलीले आत्महत्या गरेको भन्दै मंगलबार बिहान ११ बजे जानकारी गराएका थिए।
गिताञ्जलीको शवलाई हतार–हतार नारायणी अस्पतालमा पुर्याएर परीक्षण गराई माइती पक्षलाई जानकारी नदिई दाहसंस्कारको तयारी गरिएको थियो। तर, माइती पक्षको आगमनपछि दाहसंस्कार रोकिएको थियो र शव पुनः नारायणी अस्पतालको शवगृहमा राखिएको छ।
माइती पक्षले गिताञ्जलीको मृत्युलाई आत्महत्या नभइ हत्या भएको दाबी गर्दै, अनुहारमा देखिएका चोटपटकले घटना शंकास्पद भएको भन्दै आपत्ति जनाएका छन्। सोनार समाजका अगुवाहरूले समेत प्रहरीले गहन अनुसन्धान नगरी दाहसंस्कारको अनुमति दिएकोप्रति प्रश्न उठाएका छन्।
गिताञ्जलीको माइती पक्षले उनको मृत्युमा संलग्न रहेको आरोप लगाउँदै बुधवार जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएका छन्। तथापि, प्रहरीले हालसम्म जाहेरी दर्ता गरेको छैन।
गिताञ्जलीको करिब २२ महिना अघि हिन्दू परम्परा अनुसार विवाह भएको थियो, र उनका ७ महिनाकी छोरी छिन्। माइती पक्षले शंकास्पद मृत्युबारे अनुसन्धान माग गरेपछि गिताञ्जलीका श्रीमान् संजय सर्राफ र उनका परिवारका अन्य सदस्यहरू फरार रहेका छन्।
घटनाको विस्तृत अनुसन्धान नभएसम्म शवको अन्तिम संस्कार रोकिएको छ र घटनाको छानबिन जारी छ।


