Categories समाचार

वीरगंज महानगरले गर्यो क्रिकेटर साना र एसईईमा सर्वाेत्कृष्ट बनेकी रियालाई सम्मान

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आज एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।

महानगरपालिकाले नेपाली क्रिकेट टोलीकी खेलाडी वीरगंजकी प्रविणलाई नगद ५१ हजार रुपैयाँ सहित सम्मान गरेको हो । यस्तै रिया साहलाई उनको उच्च शिक्षा अध्ययनमा थप हौसला प्रदान गर्न ल्यापटप सहित सम्मान गरेको छ ।

Advertisement

प्रविणले भर्खरै सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्ड वीरुद्धको खेलमा अर्धसतक प्रहार गर्दै नेपालको कीर्तिमानी साझेदारी गरेकी थिइन् ।
प्रविण नेपालकी ओपनर व्याट्सम्यान हुन् ।

Advertisement

यस्तै २०८० सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा पर्सा जिल्लामै सर्वाेत्कृष्ट अंक ३.९७ जीपीए ल्याएर रिया साह उत्तीर्ण भएकी हुन् ।

दुबै जनालाई महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले संयुक्त रुपमा नगद र ल्यापटप हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा महानगर प्रमुख सिंहले क्रिकेटको माध्यममार्फत वीरगंज र नेपालको नाम विश्वमै चिनाउन सफल भएको भन्दै साना प्रविण र परीक्षामा पर्सा जिल्लामै प्रथम भएर शिक्षामा छोरीहरु पनि अघि छन् भनेर अनुकरणीय उदाहरण बनेकी रिया साहलाई बधाई दिनु भयो ।

उहाँले छोरीहरुको आत्मबल बढाउन महानगरले कुनै कसर बाँकी नराख्ने भन्दै छोरीहरुले पनि केही गर्न सक्छन् है भन्ने उदाहरणको पात्रको रुपमा दुबै जना बनेको भन्दै आउँदा दिनमा अझै मेहनत गरेर वीरगंजको नाम रोशन गर्ने काममा लाग्न आग्रह गर्नुभयो ।

यस्तै उपप्रमुख इम्तियाज आलमले वीरगंजलाई चिनाउन आफ्नो क्षेत्रबाट कम्मर कसेर लागेकाहरुको प्रोत्साहनमा महानगर सँधै साथमा रहेको धारणा व्यक्त गर्नु भयो । यस अघि पनि क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका आरिफ शेष र आसिफ शेषको महानगरले भव्य सम्मान गरेको स्मरण गर्दै उहाँले आउँदा दिनमा पनि वीरगंज र नेपाल चिनाउनेहरुलाई सम्मान गर्न महानगर पछि नपर्ने स्पष्ट पार्नु भयो ।

वीरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सबैको सकारात्मक पहलबाटै समाज परिवर्तन हुने हुँदा छोरीहरुलाई पढ्न र खेल्न घरैबाट उत्साह दिनु पर्ने धारणा राख्दै साना र रियाको अभिभावक त्यसको ज्वलन्त उदाहरण रहेको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले क्रिकेटको विकासमा सबैले सहयोग गरिदिनु आग्रह गर्नुभयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *