Categories समाचार

गढीमाई मेलाको आम्दानी–खर्चमा अनियमितताको आशंका

बारा l  महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलाको व्यवस्थापन ‘गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति’ले गर्दै आएको थियो । संघसंस्था ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको यो समितिसितै मेलाको आय–व्ययको जवाफदेहिता रहन्थ्यो । लाखौं भक्तजन ओइरिने यस मेलामा दर्शनार्थीबाट हुने आम्दानी र खर्च समितिले नै व्यवस्थापन गर्थ्यो ।

मेला व्यवस्थापनको खर्च दर्शनार्थीबाट हुने आम्दानीबाटै हुँदै आएको थियो । त्यसबेला बाहिरी आर्थिक सहयोग थिएन । तर यसपालिको मेला भने महागढीमाई नगरपालिकाले ‘मेला सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१’ बनाई आफ्नो क्षेत्राधिकारभित्र पारेर व्यवस्थापन गर्यो । त्यसका लागि दर्शनार्थीबाट आएको आम्दानीबाहेक प्रदेश र स्थानीय सरकारबाट समेत मेला व्यवस्थापनका लागि बजेट आयो । महागढीमाई नगरपालिका र मधेस प्रदेश सरकारले ५०/५० लाख र विद्युत् प्राधिकरणले बिजुली व्यवस्थापनमा करिब ७५ लाख रुपैयाँ खर्च गरेको थियो ।

मेलाको आम्दानीबारे चासो राखिरहेको नगरपालिकाले मेला व्यवस्थापन गर्न कार्यविधिअनुसार मूल समिति र दर्जनभन्दा बढी उपसमिति बनाई परिचालन गर्यो । तर मेला सकिएको एक महिना बितिसक्दासमेत व्यवस्थापनमा भएको आम्दानी खर्च समितिले गुपचुप राखेका छन् ।

मेला व्यवस्थापनसँगै खर्च र आम्दानी दुरुस्त राख्न जिम्मेवारी दिएको उपसमितिले मूल समितिलाई हिसाब दिन मानेका छैनन् । त्यसैले मूल समितिलाई आय व्यय मिलान र सार्वजनिक गर्न सकस भइरहेको महागढीमाई–१ का वडाध्यक्षसमेत रहेका मूल समितिका उपाध्यक्ष मनोज गुप्ताले बताए । कान्तिपुर दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *