Categories समाचार

एउटा खुट्टाले साइकल चलाएर परिवारको गर्जो टारिरहेका छन् विकिन्द्र

Advertisement

सर्लाही । एउटा खुट्टाले दैनिक २० किलोमिटरसम्म साइकल चलाएर परिवारको गर्जो टारिरहेको सुन्दा अनौठो लाग्छ तर सर्लाहीका एक व्यक्तिको दैनिकी यसरी नै बितिरहेको छ । त्यो पनि विगत १५ वर्षदेखि । यी व्यक्ति हुन्, चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका विकिन्द्र सिंह ।

उमेरले ३५ वर्ष लागेका उनी विगत १५ वर्षदेखि एउटा खुट्टाको सहारामा साइकलमा पाउरोटी बेच्छन् । करिब ५०–६० किलोग्राम पाउरोटी राखेर हरेक दिन गाउँका पसल तथा घरघरमा पु¥याउँछन् ।

Advertisement

उनको दायाँ खुट्टा पोलियोका कारण जन्मजात काम नलाग्ने भएको थियो । त्यो देखेर परिवार र समाजका मान्छेले पनि अब बोझ हुने भयो भनेर कुरा काट्नै हिँड्ने गरेका थिए ।

Advertisement

तर उनले हिम्मत हारेनन्, बरू सबैका अगाडि उदाहरणीय बनेर देखाएका छन् । बायाँ खुट्टाको सहाराले पाउरोटी बेचेर ६ जना परिवारको पालनपोषणको जिम्मेवारी सम्हालिरहेका छन् ।

सिंहले गाउँकै स्कुलमा कक्षा पाँचसम्म अध्ययन गरेका छन् । तर आर्थिक अभावका कारण त्योभन्दा बढी पढ्ने अवस्था भएन । विपन्न माझी समुदायका सिंह परिवारलाई दैनिक हातमुख जोर्न पनि धौधौ थियो ।

पेट पाल्न दैनिक मजदुरी गर्नुबाहेक अर्को उपाय थिएन यो परिवारसँग । बुबाआमाको मजदुरीबाट परिवारको छाक नटरेपछि पढाइलाई निरन्तरता दिन नसकिएको उनको भनाइ छ ।

“त्यसैले आफ्नो र परिवारका लागि केही गर्नुपर्छ भनेर १३ वर्षकै उमेरमा देश छोडेर भारतको दिल्ली पुग्नुप¥यो । त्यहाँ छ महिनासम्म साडीमा बुट्टा बनाउने काम सिक्न लागेकै बेला सिलाइकटाइ सिक्न भारतकै लुधियाना पुगेँ । त्यो कामसमेत चित्त नबुझेपछि वर्ष दिन घुमेर फेरि घर आइपुगेँ”, सिंहले भने ।

घर त फर्किइयो तर काम थिएन । घरको जेठो दाजु छुट्टिएर अलग्गै बसेपछि परिवारको सबै जिम्मा सिंहको काँधमा आयो । त्यसपछि नै हो सिकेन्द्रलाई एउटै खुट्टा र साइकल चलाउने सीपले हिम्मत दिएको ।

“सुरूमा के गर्ने भन्ने अन्योल भयो । एउटै खुट्टाले साइकल कुदाउने गरेको थिए । त्यसै सीपलाई प्रयोग गरेर पाउरोटी बेच्ने हिम्मत जुटाएको हुँ । अहिले त यसैमा अभ्यस्त बनिसके”, उनले भने । पाउरोटी बेचेर सिंहले १२ वर्षीया छोरी, १० वर्षीय छोरा, आमा, बुबा, श्रीमती र आफ्नो सबै खर्च धानेको बताए।

जिल्लाको पूर्वपश्चिम राजमार्गस्थित नवलपुरमा रहेको पाउरोटी उद्योगको गाडीले बिहान ५ बजे उनको घरमा पाउरोटी पु¥याइदिन्छ । त्यसपछि सुरू हुन्छ सिंहको दैनिकी । दैनिक बिहान ५ बजेबाट ११ बजेसम्म २० किलोमिटरसम्म यात्रा गरेर उनी चारदेखि पाँच हजारको पाउरोटी बेच्छन् । त्यसबाट दैनिक आठदेखि नौ सय कमाउने गरेको उनले सुनाए ।

“मेहनतअनुसार महिनाको २४ देखि २७ हजारसम्म आम्दानी गरिरहेको छु । घर परिवार राम्रोसँग चलिरहेको छ । पाउरोटी बेच्न थालेपछि दैनिक छाक टार्ने चिन्ता छैन”, सिंहले भने। पछिल्लो समय पाउरोटी बोक्ने बाकसमा प्वाल र साइकलसमेत पुरानो भएपछि चिन्तामा परेका सिंहलाई एक जना व्यक्तिले सहयोग गरेपछि थप उत्साहित भएर काम गर्ने जाँगर आएको छ ।

आफूजस्ता विपन्न तथा शारीरिक रूपमा अशक्त व्यक्तिलाई स्थानीय सरकारले भने कुनै सहयोग नगरेकामा उनको दुखेसो छ ।

सिंह भन्छन्,“मनकारी व्यक्तिले नयाँ साइकल र बाकस दिए तर अब उमेर बढ्दै जाँदा समस्या पनि थपिँदै गएको छ । कसैले तीनपाङ्ग्रे स्कुटर दिए त धेरै सजिलो हुने थियो । सजिलोसँग व्यापार गर्थे । आफूले कमाएको पैसा परिवारको दैनिक आवश्यकतामै खर्च हुन्छ, किन्ने अवस्था छैन ।”

स्थानीय फरक क्षमता भएका युवा शिवनाथ कहर अशक्त भएर पनि केही गर्ने जाँगर भएका युवालाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउँछन् ।

विकिन्द्रजस्ता अन्य व्यक्तिले समस्या देखाएर मागेर खानुपरेका कैयन उदाहरण हाम्रै वरिपरि छन् । उनले भने आफ्नो मात्रै होइन ६ जना परिवारको लालनपालनका लागि सङ्घर्ष गरिरहेका नछन् । यस्ता व्यक्तिलाई सरकारले विशेष सहयोग गरी थप प्रोत्साहन गर्नुपर्ने नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *