काठमाडौँ । भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा मृतक प्रकृति लम्सालको पिता सुनिल लम्सालले ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको बताएका छन् ।
मङ्गलवार घटनास्थल पुगेका लम्सालले भारतीय मिडियासँगको कुराकानीमा ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको भन्दै मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न आग्रह गरे ।
उनले भने,‘यहाँको प्रशासनले अनुसन्धान त गरिरहेको छ । पोष्ट मार्टमको रिपोर्ट पनि आउन बाँकी छ ।सूचना पाएको छौँ कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा उसले सुसाइड गरेको हो ।बाँकी हामीलाई केही थाहा छैन ।’
उनले त्यहाँको कानुनी प्रक्रिया सकेर छोरीको शव सके आज नसके भोलिसम्म नेपाल लैजाने जानकारी दिए ।
‘लिएर त जानै छ । हेरौँ के हुन्छ । तर प्रोसिडियर हुन्छ । एउटा देशबाट अर्को देश लाने कुरा हो । सकेसम्म आज भए आज नभए भोलि लैजाने छौँ ।हाम्रो माग भनेको न्याय हो अरू केही छैन मात्र न्याय हो ।’






