Categories पत्रपत्रिका

२०८२ सालमा सरकारी कर्मचारीलाई १४० दिन बिदा : ज्यादा बिदाले सेवाग्राही मर्कामा

Advertisement

काठमाडौँ l सरकारले २०८२ सालका सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशित गरेको छ। यसबाहेक कानुनअनुसार सरकारी कर्मचारीले छुट्टै बिदा पाउँछन्।

सरकारले दिने सार्वजनिक बिदा, पर्व बिदा, शनिबारको बिदा, जन्मजयन्ती बिदा, मन्त्रिपरिषद्ले बेलाबेलामा निर्णय गरेर दिने बिदा र प्रदेश तथा स्थानीय सरकारले दिने छुट्टै बिदासमेत जोड्ने हो भने सरकारी कर्मचारीलाई वर्षभरिमा कम्तीमा एक सय ४० दिन कार्यालय जानु पर्दैन।

Advertisement

गत बिहीबार राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८२ को वैशाख १ देखि चैत मसान्तसम्म शनिबारबाहेक सबै जात, धर्म, समुदायलाई दिइने बिदा जोड्दा वर्षमा २८ दिन सार्वजनिक बिदा हुन्छ।

Advertisement

यसबाहेक विभिन्न जात, समुदाय, धर्म, भूगोल आदि हेरेर थप बिदाको घोषणा गरिएको छ। यसैगरी मन्त्रिपरिषद्ले निर्णय गरेर थप बिदाको घोषणा गर्न सक्ने व्यवस्था कानुनमै छ। प्रदेश र स्थानीय सरकारले पनि थप बिदा दिने सक्ने व्यवस्था छ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार सरकारले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ। यसअघि पृथ्वी जयन्तीमा कुनै वर्ष सार्वजनिक बिदा दिने गरिएको थियो भने कुनै वर्ष दिइएको थिएन।

विज्ञहरूका अनुसार नेपालमा सार्वजनिक बिदा अन्य देशहरूको तुलनामा बढी छन्। यसैकारण उनीहरूले सार्वजनिक बिदा कटौती गर्न सरकारलाई सुझाव दिँदै आएका छन्।

सार्वजनिक बिदाबाहेक पनि संघीय प्रदेश र स्थानीय सरकारले बिचबिचमा विभिन्न खाले बिदा दिँदा आम रूपमा सेवाग्राहीलाई मर्का पर्ने प्रशासन विज्ञहरूको भनाइ छ। पहिले नै कामको योजना बनाएका सेवाग्राहीलाई बिचबिचमा बिदा घोषणा गर्दा मर्का पर्ने उनीहरूको भनाइ छ।

प्रदेश सरकार कार्य सञ्चालन कार्यविधिमा प्रदेश सरकारलाई वर्षभरिमा ६ दिन तथा स्थानीय सरकार कार्य सञ्चालन कार्यविधिमा स्थानीय सरकारलाई वर्षभरिमा तीन दिन बिदा दिन सक्ने व्यवस्था गरिएको छ। तर कार्यविधिबाहिर गएर पनि प्रदेश र स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेका छन्।

२०८२ सालमा बडादसैंमा ६ दिन र तिहारमा पाँच दिन बिदा दिइने भएको छ। यसैगरी नववर्ष वैशाख १, वैशाख पूर्णिमा बुद्ध जयन्ती, राई/किरात समुदायको उभौली पर्व वैशाख २९, रक्षाबन्धन साउन २४ गते, श्रीकृष्ण जन्माष्टमी साउन ३१ लगायत पर्वमा सार्वजनिक बिदा घोषणा गरिएको छ।

२०६६ सालमा तत्कालीन सरकारले सार्वजनिक बिदाबारे अध्ययन गर्न तत्कालीन गृहसचिव गोविन्द कुसुमको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलमा संघीय मामिला मन्त्रालय, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति मन्त्रालयका सचिव सम्मिलित थिए। उक्त कार्यदलले सार्वजनिक बिदा कटौती गर्न सरकारलाई सिफारिस गरेको थियो।

साथै कार्यदलले सातामा दुई दिन बिदा दिन र बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय तोक्न सिफारिस गरेको थियो। तर उक्त कार्यादलको सुझाव प्रतिवेदन कार्यान्वयनमा आएन।

कर्मचारीले पाउने छुट्टै बिदा

नेपालमा विभिन्न बिदाका कारण सरकारी कर्मचारीलाई वर्षभरिमा एक सय ४० दिन कार्यालय जानुपर्दैन। सरकारी कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरी बिदा छुट्टै पाउँछन्।

यसैगरी उनीहरूले जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा र थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत पाउँछन्। महिला कर्मचारीको हकमा ९८ दिन सुत्केरी बिदा दिइन्छ।

पत्नी सुत्केरी हुँदा पतिलाई समेत १५ दिन सुत्केरी बिदाको सुविधा दिइएको हुन्छ। यसबाहेक एक वर्षमा ५२ दिन शनिबार र करिब १५ दिन सार्वजनिक बिदाको सुविधा उनीहरूले पाउँछन्।

आधाजसो निजामती कर्मचारीले आफूले पाएको बिदा सञ्चित गरी अवकाश पाउने बेला एक सय ८० दिन बराबरको सुविधा लिने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारी बताउँछन्।

सार्वजनिक बिदामा पनि खुल्छन् यी कार्यालय

सार्वजनिक बिदाको दिनमा पनि केही सरकारी कार्यालय खुल्छन् भनेर धेरैलाई थाहा नहुन सक्छ। गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिन पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो। यो निर्णयले निरन्तरता पाइरहेको छ।

२०८२ सालमा पनि यही निर्णयअनुसार त्यस्ता कार्यालय खुला हुनेछन्। नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नापी र मालपोतसँग सम्बन्धित कार्यालय सार्वजनिक बिदामा पनि खुल्ने गरेका छन्।

राजपत्रमा प्रकाशित सूचनाअनुसार अत्यावश्यकीय सेवा दिने भनी तोकिएका कार्यालयहरूले विभिन्न चाडपर्व तथा दिवस बिदामा नियमित सेवा दिनुपर्छ।

गृह मन्त्रालयका अनुसार उभौली पर्व, चण्डी पूर्णिमा, बुद्ध जयन्ती, गणतन्त्र दिवस, गाईजात्रा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, इन्द्रजात्रा, घटस्थापना, क्रिसमस डे, उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस, तमुल्होसार, माघी पर्वमा अत्यावश्यकीय सेवा दिने भनी तोकिएका सरकारी कार्यालय खुला हुन्छन्।

यसैगरी प्रजातन्त्र दिवस, महाशिवरात्रि, अन्तर्राष्ट्रिय महिला दिवस, घोडेजात्रा, इद उल फित्र, बकर इद र मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालगायत सार्वजनिक बिदामा पनि अत्यावश्यकीय सेवा दिने कार्यालय सञ्चालन हुन्छन्।

सार्वजनिक बिदामा पनि अत्यावश्यकीय सेवा दिने कार्यालय खुला भए पनि अधिकांश सेवाग्राहीलाई यसबारे थाहा छैन। यसले गर्दा सार्वजनिक बिदाका दिन पनि खुल्ने अत्यावश्यकीय सेवा दिन कार्यालय सुनसानजस्तै हुन्छन्।

आजको नागरिक दैनिकमा भुवन शर्माले यो समाचार लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *