वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित लिटिल स्टेप मन्टेश्वरी स्कुलले सातौ वार्षिकोत्सव मनाएको छ । आदर्शनगरस्थित जैन धर्मशालामा ‘दर्पण’ थिममा आधारित रहेर कार्यक्रम गरी स्कुलले वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले विद्यार्थीको जगलाई बलियो बनाउनुपर्नेमा जोड दिए । आधार बलियो भएपछि भविष्य पनि सुनिश्चित हुने सशस्त्र प्रहरी उपरीक्षक धिमालको बुझाई छ ।
अनुशासन, संस्कार र संस्कृतिका बारेमा विद्यार्थीलाई सानैदेखि सिकाउनुपर्ने आवश्यक्ता उनले औल्याँए । यद्यपी जबरजस्ती रुपमा करकाप नगरी सरल ढंगले सिकाउनुपर्ने सुझाव पनि उनले दिए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधब राजपाल, दिल्ली पब्लिक स्कुलका प्रिन्सीपल रन्जित आनन्द, डिएभी आरबी केडिया स्कुलका प्रिन्सीपल राकेश मिश्र, ज्ञानदा एकेडेमीकी भाइस प्रिन्सीपल जागृती मिश्र लगायतले शैक्षिक स्तरोन्नतीका लागि आधारभूत तहको शिक्षालाई सशक्त बनाउनुपर्ने धारणा राखेका थिए ।
स्कुलका विभागिय प्रमुख अमित सर्राफले धन्यवाद ज्ञापन गर्दै विद्यार्थीको विकासका लागि स्कुलले कुनै कसर बाँकी नराख्ने बताए । स्कुलको स्थापनाकालदेखि अभिभावकले गरेको विश्वास र प्रेमप्रति उनले आभार प्रकट गरे ।






